३० दिनदेखि कार्यालय प्रमुखविहीन

कात्तिक १५,मुगु ।
जिल्ला कृषि विकास कार्यालय एक महिनादेखि प्रमुखविहीन बनेको छ । कार्यालय प्रमुख कमल सुनार दसैं बिदाको दुई साताअघि नै कार्यालयको गाडी लिएर घर गएका थिए । सुनारले लामो समयदेखि कार्यालयको गाडीसमेत निजी गाडीजस्तै बनाएर प्रयोग गरिरहेका छन् । दसैं बिदा सकिएको झन्डै दुई साता बिते पनि अनी अझै कार्यालय फर्किएका छैनन् । उनी नहुँदा कार्यालयका प्रशासनिक र आर्थि कामकाज रोकिएका छन् । जलस्रोत तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमाल पनि कार्यालयकै गाडी लिएर दसैंअघि नै घर गएका थिए । उनी नहुँदा कार्यालयका अधिकांश कामकाज अवरुद्ध भएका छन् भने योजना सम्झौता गर्न गाउँबाट आएका उपभोक्ता रित्तो हात फर्कन बाध्य छन् । कृषि कार्यालयमा प्रमुख नहुँदा योजना सम्झौताको काम रोकिएको सोरु गाउँपालिकाका धर्म शाहीले बताए ।
पूर्वाधार विकास कार्यालयका प्रमुख एकेन्द्र धराला पनि कार्यालयको गाडीसहित जिल्ला बाहिरै छन् । त्यस्तै वन डिभिजन, शिक्षा विकास तथा समन्वय इकाइ, हुलाक, घरेलुलगायत सरकारी कार्यालयहरू पनि निमित्तकै भरमा छन् । सोरु गाउापालिकास्थित इलाका प्रशासन कार्यालय प्रमुख खड्गबहादुर बस्नेत पनि कार्यालयमा नफर्किंदा नागरिकता वितरण, राहदानी सिफारिस, नाबालक परिचयपत्र वितरण लगायत काममा बाधा भएको छ ।
कार्यालयका सवारी साधन घरतिर लिएर प्रयोग गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनले दसैं बिदामा गएका कार्यालय प्रमुखलाई कार्यालयमा हाजिर हुन ताकेता गरिरहेको जानकारी दिए ।  (ई–कान्तिपुर)

Translate »