नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलसँग हामीले अहिले नेपालमा मुटु रोगीहरुको अवस्था र समस्याको बारेमा कुराकानी गरेका छौं ।

नेपालमा मुटु रोगीको अवस्था के छ ?

नेपालमा व्यवस्थित अध्ययनको अभाव रहेकोले मुटुरोगीको संख्या यति नै छ भन्न सक्ने अवस्था छैन । तर यति कुरा भन्न सकिन्छ कि पछिल्लो समय मुटु रोगीको संख्या बढेको छ । संख्यामा मुटुरोगीको संख्या बढिरहँदा यसको २ कारण हुन सक्छन् ।

पहिलो त हिजोआज अस्वस्थ जीवनशैली अपनाउनेहरुको संख्या बढ्दो मात्रामा छ । दोस्रो भनेको मान्छेमा जागरुकता बढेकोले पहिचान धेरै भएको पनि हुन सक्छ । जे भए पनि तथ्यांकलाई आधार मान्दा मुटुरोगीको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ । यो संख्या नेपालमा मात्रै नभएर धेरै विकाशोन्मुख मुलुकमा देखिने समस्या हो ।

मुटु रोगको मुख्य कारण के हो ?

मुटु रोगको मुख्य कारण भनेको एउटा त अस्वस्थ जीवनशैली नै हो । अस्वस्थ जीवनशैलीभित्र पनि शारीरिक निष्कृयता र अस्वस्थ खाना यसको मुख्य कारण हो । अर्काे भनेको व्यावहारिक कारण हो । त्यो भनेको चुरोट, मदिरा जस्ता दुव्र्यसनीमा फस्नु पनि मुटु रोगको कारण हो । हिजोआज चुरोट, मदिरा आदिको प्रयोग घटेको छैन । वातावरणीय प्रदूषण पनि आजको दिनमा मुटु रोगको मुख्य कारण बनेको छ । यसले हाम्रो रक्तसञ्चार प्रणालीलाई असर पारेको छ । भलै यो अदृश्य समस्या हो । तर कैयौं अदृश्य समस्या नै मृत्युको कारण बन्न सक्छ ।

अर्काे भनेको भावनात्मक कारणले पनि मुटुको समस्या देखिन्छ । जस्तो, हामी नेगेटिभ इमोसन धेरै पाल्ने गर्छाैं । जस्तो, रिस उठ्ने, एन्जाइटी, घृणा र अस्वस्थ प्रतिष्पर्धा आदि पनि मुटु रोगको कारण हो । यस्ता समस्याले हाम्रो मस्तिष्क र मुटुमा प्रभाव पार्छ । त्यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र रक्तसञ्चार प्रणालीमा ठूलो क्षति पु¥याउँछ । जुन अदृश्य हुन्छ तर धेरै जोखिमयुक्त हुन्छ । अर्काे त मुटु रोग वंशाणुगत कारणले पनि हुन सक्छ । अस्वस्थ खानाको कारणले पनि मुटुमा असर गर्छ ।

मुटु रोग लागेको संकेत के हुनसक्छ ? कसरी थाहा पाउन सकिन्छ ?

मुटु रोगका मुख्यतया पाँचवटा लक्षणहरू हुन्छन् । जस्तै, छाती दुख्नु, स्याँस्याँ हुनु, ढुकढुक हुनु, बेहोस हुनु, थकाइ धेरै लाग्नु र जिउ–खुट्टा सुनिनु मुटु रोगको मुख्य लक्षण हो ।

मुटु रोग लागेपछि त्यसको उपचार कति सहज छ ? नेपालमा मुटु रोग उपचार कति सम्भव छ ?

विगतको एक दशकको जानकारीलाई आधार मान्दा मुटुरोगको उपचारमा नेपालले धेरै प्रगति गरेको छ । जसमा काठमाडौंभित्र मात्रै नभएर बाहिरका ठूला शहरहरुमा समेत मुटुको शल्यक्रिया सम्बन्धी सेवा दिन थालिएको छ । अहिलेको अवस्थामा मुटु प्रत्यारोपणबाहेक धेरै किसिमका मुटुको शल्यक्रिया नेपालमै हुने गर्छ । जस्तै, थोरै चिरेर उपचार गर्ने प्रविधिको पनि नेपालमै विकास भएको छ । सीमित स्रोत र साधनका बाबजुद पनि नेपालले पछिल्लो १० वर्षमा धेरै मुटु रोगको उपचारमा धेरै प्रगति गरेको छ ।

मुटु रोग लाग्नै नदिन के गर्ने ?

मुटु रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु उचित हुन्छ । यसको लागि हामीले जे गर्नुपर्छ र गर्नु हुँदैन भनेर जानेका छौं, त्यस्ता जीवनशैलीगत परिवर्तनमा ध्यान दिनुपर्छ । सानोतिनो समस्यालाई ठूलो सम्झिनु हुँदैन । उच्च रक्तचाप, मधुमेह भएका मान्छेले झनै बढी जीवनशैलीमा ध्यान दिनुपर्छ । माथि उल्लेख भएका भावनात्मक कुराहरुमा ध्यान दिने र सकारात्मक सोचको विकास गर्नुपर्छ ।

मुटु रोग लागिसकेपछि के कस्ता सावधानी अपनाउनुपर्छ ?

मुटु रोग लागि सकेपछि हामीले सबैभन्दा पहिले आफ्नो खानपान र दैनिक जीवनशैलीलाई ध्यान दिनुपर्छ । के गर्न हुने र नहुने विषयमा चिकित्सकसँग छलफल गर्नुपर्छ । दीर्घ रोगको समस्या छ भने त्यही अनुसार संवेदनशील भएर दैनिक क्रियाकलापहरु गर्नुपर्छ ।

मुटुको शल्यक्रिया गरेकाहरुले के कस्ता कुरामा सर्तक रहनुपर्छ ?

मुटु रोग लागेका र शल्यक्रिया गरेकाहरुले अपनाउनु पर्ने सावधानी मुख्यतः एउटै खालको हुन्छ । पहिलो नियमित चेकअप गर्नुपर्छ । रोगहरु हेरेर चिकित्सकसँग नियमित परामर्श लिएर मुटु मात्रै नभएर अन्य समस्याको पनि परीक्षण गर्नुपर्ने हुन सक्छ । औषधि नियमित खानुपर्छ । स्वस्थ जीवनशैलीलाई ध्यान दिनुपर्छ । (अनलाइन खबर)

Translate »