कर्णाली प्रदेश सरकारले बाढी, पहिरोबाट मृत्यु भएकालाई दुई लाख दिने

स्काई न्यूज / कात्तिक ५,सुर्खेत ।
कर्णाली प्रदेश सरकारले बाढी, पहिरोबाट मृत्यु भएकालाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारको आज बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरो लगायतका विपद्मा परेर मृत्यु भएका परिवारका सदस्यलाई दुर्घटना वीमा वापत २ लाख रुपैयाँ दिने घोषणा गरेको हो । पछिल्लो पटक बेमौसमी वर्षातसँगै आएको बाढीपहिरोबाट कर्णालीमा ८ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना वीमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।

बैठकमा मुख्यमन्त्री शाहीले अत्यासित वर्षातबाट अवरुद्ध भएका सडक, सिँचाई, खानेपानी र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय गरेको जनाए । उनले पूर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गरिने बताए । प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले बैठकमा कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए । उनले बेमौसमी वर्षातबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्थापन गर्ने निर्णय भएको बताए । उनका अनुसार विपद्मा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

Translate »