फेरी बदली तथा वर्षाको सम्भावना

कात्तिक ५, काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जानकारी दिइएको छ ।

शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १,  वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राजधानी काठमाडौं उपत्यकामा शुक्रवार बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौंको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । रासस

Translate »