अविरल वर्षाले धानबालीमा ठूलो क्षती

स्काई न्यूज / कार्तिक २, सुर्खेत ।
आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशैंअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेंलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दशैं टीका लगाएर किसान धान काट्न शुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, वीरेन्द्रनगरका किसान राजाराम चौधरीले भने । उनले थपे, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।’ पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । कुन्तादेवी खत्रीले आफूहरुका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताईन् । उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत जनाईन् ।

लगातारको कात्तिके झरीले जिल्लाको सुर्खेत आसपासका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । धान भित्र्याउने बेलमाा पानी परेपछि खेतमै काटेर राखिएको धानमा क्षती पुगेको कृषकले बताएका छन् । दशैं सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका कृषक खेतमै धान कुहिने डरले चिन्तित भएका हुन् । दशैंको टीका सकिएलगत्तै धान काट्ने योजना बनाएका कृषकलाई समेत समस्या भएको वीरेन्द्रनगरका कृषक कृष्ण शाहीले बताईन् । उनले कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएले नोक्सानी पु¥याएको जनाईन् । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउने बित्तिकै पानी परेपछि नोक्सानी भएको छ ।

जिल्लाका अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि सेवा निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । निर्देशनालयका अनुसार यस वर्ष जिल्लाभरी १३ हजार २ सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । सुर्खेत आसपासका क्षेत्रमा लगातारको वर्षाले धान बालीलाई कति नोक्सानी पु¥याएको बारे सरकारी पक्षबाट तथ्यांक संकलन भएको छैन् । तर, कृषकले भने धानबालीलाई ठूलो क्षती पुगेको बताएका छन् । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढालेको छ । मौसमको अवस्था अझै बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । सुर्खेत आसपासका क्षेत्रमा पछिल्लो तीन दिनदेखि अविरल वर्षाले आम जनजीवनलाई समेत प्रभावित बनाएको छ ।

 

Translate »