कोठामा वालपेपर राख्न कति खर्च लाग्छ ? के छ फाइदा ?

घर सिमेन्ट र इँटाको संरचना मात्रै होइन। घरलाई पूर्णता दिन सजावटको महत्व उत्तिकै हुन्छ। परम्परागत घर कमेरो र रातोमाटोले रंग्याउने चलन थियो। अचेल विभिन्न प्रकारका रङ उपलब्ध छन्। अझ भित्री भित्ता र पर्खालमा त पछिल्लो समय वालपेपरले स्थान ओगट्दै आएको छ।

घर मात्रै होइन, अफिस, होटल, रेस्टुरेन्ट लगायतको सजावटमा पनि वालपेपर चलन बढिरहेको घरायसी सामग्री वितरक कम्पनी एभ्रिघर प्रालिका निर्देशक राजेश ढकाल बताउँछन्।

‘नयाँ बनेका घरमा अचेल एउटा मात्र कोठामा भए पनि वालपेपर लगाउन थालेका छन्,’ ढकालले भने, ‘अफिस, होटल, रेस्टुरेन्टमा त यसको माग धेरै नै छ।’

वालपेपरको मुख्य विषेशता भित्ता आकर्षक देखाउनु नै हो। विशेषगरी लिभिङ रूम सजाउन वालपेपर प्रयोग गरिन्छ। ढकालका अनुसार वालपेपर लगाउँदा इन्टेरियर डिजाइनरको सल्लाह लिनु उपयुक्त हुन्छ।

‘कोठाको फर्निचर, सिलिङ र फ्लोरिङले पनि कोठाको सौन्दर्यमा फरक पारेको हुन्छ। तिनको रङअनुसार मिल्ने गरी वालपेपर लगाउनुपर्छ,’ ढकालले भने, ‘साधारण गुणस्तरको रङभन्दा वालपेपरले आरामदायी कोठा निर्माणमा सहयोग पुर्‍याउँछ र सुन्दरता बढाउँछ।’

वालपेपर विभिन्न रङ, बुट्टा र प्रकारमा पाइन्छ। सामान्यतया इँटा, ढुंगा, काठ, मार्वल, जीव–जनावर, प्राकृतिक दृष्यलगायत एक सयभन्दा बढी प्याटर्न (बुट्टा) भएका रेडिमेड वालपेपर उपलब्ध छन्। यसको मूल्य मोटाइअनुसार फरक पर्ने भए पनि हाम्रो बजारमा सामान्यतया एकै आकारको पाइन्छ।

कति पर्छ मूल्य?

बजारमा यस्ता वालपेपर रोलका हिसाबले किन्न पाइन्छ। एक रोल वालपेपर ५७ वर्गफिटको हुन्छ। यो सबभन्दा सानो र चल्तीको आकार हो। यसमा वालपेपरको बुट्टा मिलाउँदा करिब ७ वर्गफिट बराबर खेर जाने हुन्छ।

एक रोल वालपेपर सात फिट लम्बाइ र सात फिट चौडाइको कोठामा लगाउन पुग्छ। कोठा ठूलो भएमा रोल थप्नुपर्छ। एक सय वर्गफिट क्षेत्रफल भएको भित्तामा दुई रोल वालपेपर आवश्यक पर्छ।

ढकालले भने, ‘एक रोलमा सात वर्गफिट जति खेर जान्छ। यो कुरा हामीले ग्राहकलाई पहिले नै जानकारी गराउँछौं।’

नेपाली बजारमा ५७ वर्गफिटको वालपेपर धेरै रूचाइएको र उपयोगी देखिएको ढकालको अनुभव छ। यसको एक रोलको फिटिङसहितको मूल्य दुई हजार दुई सयदेखि दुई हजार पाँच सय रूपैयाँसम्म पर्ने उनी बताउँछन्।

‘फिटिङ चार्जसहित २२ सयदेखि २५ सयसम्म एक रोल वालपेपर पाइन्छ,’ उनले भने, ‘हामीकहाँ चाइनिज वालपेपर धेरै रूचाइएको छ। युरोपियन पनि आउँछन् तर त्यसको मूल्य दोब्बर पर्छ। कमैले मात्र प्रयोग गर्छन्।’

कसरी लगाउने?

पुटिङ गरेर छाडिएको भित्ता वालपेपरका लागि उपयुक्त हुन्छ। यसलाई फेबिकोलको सहायताले भित्तामा सजिलै टाँस्न सकिन्छ। तर पेपर लगाउँदा दक्ष कामदार आवश्यक पर्छ। नभए कटिङ गर्दा बुट्टा नमिल्ने, जोडाइ देखिने वा खुम्चिने ढकाल बताउँछन्।

‘भित्तामा राखिएको स्विच बोर्ड र बत्तीहरूका कारण कहिलेकाहीँ वालपेपर लगाउन समस्या पर्छ,’ उनी भन्छन्, ‘दक्ष जनशक्ति भएको अवस्थामा समस्या हुँदैन।’

ढकालका अनुसार वालपेपर एकपटक राम्ररी टाँसेपछि हत्तपत्त उप्किँदैन। राम्रो हेरचाह गर्न सके यो दस वर्षसम्म फेर्नुपर्दैन।

‘धारिलो वस्तुले काट्न वा कोर्न खोजेमा त असर गर्छ नै। नभए आठ–दस वर्षसम्म जस्ताको त्यस्तै रहन्छ,’ उनले भने, ‘सामान्य दागधब्बा लाग्दा सजिलै पुछ्न पनि सकिन्छ।’

अर्डरमा पनि बनाउन सकिन्छ वालपेपरः

वालपेपरको अर्को विशेषता भनेको ग्राहकले आफ्नो रोजाइको तस्वीर, परिवारको फोटो, घरको फोटो वा कुनै पनि दृष्य राखेर बनाउन सकिन्छ।

फर्निचर, पार्केट वा कार्पेट सुहाउँदो वालपेपरले कोठालाई प्राकृतिक बनाइराख्न सहयोग पुर्‍याउँछ। साथै नदी, जंगल, फूलबारी आदि दृश्य भएको वालपेपर सुन्दर देखिने ढकाल बताउँछन्।

‘एकजना ग्राहकले पूजा कोठामा राख्न शिव-पार्वती कैलाशमा बसिरहेको बनाइदिन भन्नुभयो। हामीले तयार पारिदियौं,’ उदाहरण दिँदै उनले भने, ‘फोटो र आकार दिनुभयो भने हामी भनेजस्तै तयार पारिदिन्छौं।’

यस किसिमको वालपेपर प्रतिवर्गफिट एक सय पचास रूपैयाँ दरले तयार पारिने ढकालले जानकारी दिए।

वालपेपर फमः

काठमाडौंका धेरैजसो घरमा पानी रसाउने समस्या हुन्छ। भित्तामा पानी रसाएको छ भने त्यस्तो स्थानमा वालपेपर लगाउन मिल्दैन। पानीले वालपेपरको आयु घटाउँछ। तर यो वालपेपरको समस्या होइन, भित्ताको हो।

त्यस्तो ठाउँमा वालपेपरजस्तै देखिने फम वालपेपर लगाउनु उपयुक्त हुने ढकालले सुझाव छ।

‘फम वालपेपर पानी रसाएको भित्तामै लगाउने हो। यसले भित्ता छोप्छ र पानी आउन पनि रोक्छ। कोठा राम्रो पनि देखिन्छ, सजावट र सुरक्षा दुवै काम गर्छ,’ ढकालले भने।

यस्ता वालपेपर एक सय पैँतीस रूपैयाँ प्रति वर्गफिटदेखि एक सय पचास रूपैयाँसम्म तयार पारिन्छन्।

वालपेपरको मुख्य काम त सजावट नै हो। सुरूमा महँगो जस्तो देखिए पनि वालपेपर किफायती भएको ढकालको भनाइ छ।

( सेतोपाटी)

Translate »