मध्यपश्चिम विश्वविद्यालय र चण्डीगढ विश्वविवद्यालय वीच एमओयूमा हस्ताक्षर

स्काई न्यूज असोज २८, सुर्खेत ।  मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालय वीच शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चण्डीगढ विश्वविद्यालयले मंगलबार आयोजना गरेको एक कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालय वीच शैक्षिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

दुई छिमेकी मित्र राष्ट्र नेपाल–भारत वीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु एमओयूको मुख्य उद्देश्य रहेको बताईएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यलयका तर्फबाट उपकुलपति आएएस बावाले शैक्षिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

एमओयू पश्चात अब दुबै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, प्रतिमान परिवर्तन, परिवर्तनकारी पहल, सांस्कृतिक तथा प्रासंगिक विकास मोडेल कार्यक्रमहरु सञ्चालन गर्ने छन् । विश्वव्यापी आवश्यताहरुको सामना गर्नका लागि व्यवसायिक विकासका अवसरहरु सृजना गर्दै २१ औं शताब्दीको उपयुक्त मानव संसाधनहरु तयार गर्नु एमओयूको अर्को उद्देश्य रहेको बताईएको छ ।

एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षका लागि मान्य हुनेछ । एमओयू हस्ताक्षर कार्यक्रममा दुबै विश्वविद्यालयका प्राध्यापक एवं अधिकारीहरुको बाक्लो उपस्थिति रहेको एयुका प्रतिनिधि पञ्चदेव भट्टले जानकारी दिए ।

Translate »