दशैंमा जथाभावी मूल्यवृद्धि : बजार अनुगमनले मूल्य नियन्त्रण भएन

डिलबहादुर खत्री /असोज २४, सुर्खेत ।  चाडपर्वको मौका पारी सुर्खेत आसपासका क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामाग्रीमा आफुखुशी मूल्य बढाएका छन् । तीनै तहका सरकारले चाडपर्व लक्षित बजार अनुगमन गरेपनि व्यापारीहले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री विक्री वितरणसँगै मनलाग्दी मूल्यबृद्धि गरेको पाईएको छ । पाँच दलिय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेसँगै आम उपभोक्ताको ढाड् सेक्ने गरि मूल्य बृद्धि नियन्त्रण बाहिर भएको हो । सरकारले मूल्यबृद्धि नियन्त्रण गर्न नसक्दा निरीह आम नागरिक आफ्नै भाग्यलाई दोष दिन बाध्य भएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित आसपासका क्षेत्रका सबैजसो व्यापारिक केन्द्रहरुमा व्यापारीको मनोमानी बढेको छ । यसअघि २ सय ६० रुपैयाँ प्रतिलिटर पर्ने खानेतेलको मूल्य १० रुपैयाँ बढाइएको छ भने चामल प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढाएर बिक्री गर्न थालिएको छ । बजारमा १ सय २० रुपैयाँ पर्ने दालमा १० रुपैयाँ बढाइएको स्थानीय हरिमाया ढकालले बताईन् । उनका अनुसार ४० देखि ५० रुपैयाँमा बिक्री हुने तरकारीको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ बनाइएको छ । मूल्य वृद्धिको असर आर्थिक रुपमा विपन्न र मजदुरी गर्ने वर्गमा बढी परेको स्थानीय अगुवा पिताम्वर ढकालले बताए । ‘कसैलाई त चाडपर्वमा पनि बिहान–बेलुकाको छाक टार्न समस्या छ,’ उनले भने, ‘उनीहरुलाई चाडपर्वमा झन् सहुलियत दिनुपर्नेमा व्यापारीले मूल्य बढाइरहेका छनु ।’ कोरोना महामारीले अधिकांश विपन्नको रोजगारी गुमेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए ।

बैशाखयता तेल र खाद्यान्नको मूल्य महिना–महिनामा बढिरहेको स्थानीय लक्ष्मी बयकले बताइन् । उनले ५ महिनाअघि २ सय रुपैयाँमा खरिद गर्ने गरेको तेलको मूल्य अहिले २ सय ७० रुपैयाँ पुगेको जानकारी दिइन् । उनका अनुसार पहिले १ हजार ५ सयमा पाइने चामलको मूल्य अहिले १ हजार ६ पुगेको छ । ‘व्यापारीले आफूखुसी मूल्य बढाइरहेका छन्,’ उनले भनिन्, ‘तर नियमन गर्ने निकाय बजार अनुगमन गरेपनि मूल्य नियन्त्रण गर्न सकेका छैनन् ।’ प्रधानमन्त्री शेरबहादुर देउवा सरकार मात्र होइन, कर्णाली प्रदेशसँगै स्थानीय तहका जनप्रतिनिधिले समेत मूल्यबृद्धिलाई मौन समर्थन गरिरहेका छन् । गाउँघरमा अभावको हल्ला फैलाएर व्यापारीले जथाभाबी भाउ बढाउँदै लगेको सृजना रोकायले बताइन् । ‘काम गर्दा दिनमा ५ सय रुपैयाँभन्दा बढी ज्याला पाइँदैन,’ उनले भनिन्, ‘महँगीका कारण त्यो ज्यालाले साँझ–बिहानको चुलो बाल्न पनि कठिन भयो ।’ उनले व्यापारीलाई मूल्यवृद्धि गर्न छुट दिने सरकारले मजदुरको ज्याला बढाउन पहल नगरेको गुनासो गरिन् । कम्पनीहरुले नै मूल्य बढाउँदा बजारमा महँगी बढेको व्यापारीहरुको गुनासो छ ।

सदरमुकाम वीरेन्द्रनगरका व्यापारी ईश्वर श्रेष्ठले कम्पनीहरुले बढी परिणामको स्टिकर टाँसेर कम परिणामको सामान पढाउने गरेको गुनासो गरे । ‘कम्पनीहरुले एक लिटरको तेल भनी ९ सयदेखि ९ सय एमएलसम्मको तेल मात्र भरेर पठाउँछन्,’ उनले भने, ‘बरु सरकारले तेल प्याकिङ गर्ने कम्पनीमा छापा मारी उद्योगीलाई कारबाही गर्न जरुरी छ ।’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जथाभाबी मूल्य वृद्धि नगर्न, अखाद्य वस्तु बिक्री नगर्न र व्यापारिक मर्यादा कायम राख्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए ।

चाडपर्वको समयमा उपभोक्तालाई ठगीमा पर्न नदिन बजार अनुगमनलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानाले बताए । उनका अनुसार अनुगमनका क्रममा दैनिकजसो ठूलो परिणाममा म्याद गुज्रेका र अखाद्य वस्तु बरामद गरी नष्ट गर्ने गरिएको छ । ‘व्यापारीले मूल्य सूची नराखेरै व्यापार गरेको भेटियो, बजारमा उपभोक्तालाई बिल नदिने प्रवृति पनि धेरै रहेछ,’ उनले भने, ‘पहिलोपल्ट कैफियत भेटिएकाले चेतावनी दिएर छोडेका छौं, फेरि भेटिए कारबाही हुन्छ ।’

कर्मकाण्डी अनुगमन
वीरेन्द्रनगरका स्थानीयले दशैं–तिहारमा मात्र बजार अनुगमन गर्दा व्यापारीको मनोमानी बढेको बताएका छन् । ‘अनुगमन पनि नाम मात्रको कर्मकाण्डी हुन्छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले भनिन्, ‘चाडपर्व आउँदा देखाउनका लागि मात्र अनुगमन भएको जस्तो भयो ।’ उनले सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा जथाभावी मूल्यवृद्धि हुन थालेको बताईन् । ‘पसलैपिच्छे म्याद नाघेका र अखाद्य वस्तु बिक्री हुन्छ,’ उनले भनिन्, ‘तर प्रशासनले भने देखाउनकै लागि सदरमुकाममा मात्र बजार अनुगमन बढी केन्द्रित गरेको देखिन्छ ।’ उनले अनुगमन प्रभावकारी नहुँदा व्यापारीले उपभोक्तालाई जथाभावी ठगिइरहेको गुनासो गरिन् । सुर्खेतमा जिल्ला प्रशासन कार्यालयले एक सातादेखि बजार अनुगमन तीव्र बनाएको छ । खाद्यवस्तुको कृतिम अभाव सिर्जना गरी मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या हुन नदिन अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानाले बताए ।

‘चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने गरेकाले उपभोक्ता ठगिने गरेका छन्,’ उनले भने, ‘कैफियत भेटिएका व्यापारीले कार्बाहीको दायरामा ल्याइएको छ ।’ उनले यतिबेला चाडपर्व लक्षित बजार अनुगमन मात्र नभई नियमित भईरहेको बुझ्न आग्रह गरे । उनका अनुसार अहिले जिल्ला सदरमुकाममा गृह मन्त्रालय, वाणिज्य कार्यालय, संयुक्त बजार अनुगममन समितिसँगै केही स्थानीय तहले समेत बजार अनुगमन गरिरहेका छन् । यसैवीच वीरेन्द्रनगर नगरपालिकाले शनिबारदेखि बजार अनुगमनलाई निरन्तरता दिँदै मासुजन्य तथा डेरी उद्योग, किराना पसल एवं एग्रोभेटमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रमममा व्यवसायीलाई जिम्मेवार बनाउन सचेतनासँगै कैफियत फेला परेका व्यापारीलाई चेतावनी दिएर म्याद नाघेका तथा उत्पादन मिति उल्लेख नभएका बस्तुलाई जफत गरि नष्ट गर्ने गएिको अनुगमन अधिकृत ईन्द्रबहादुर थापाले बताए । यता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख भेषबहादुर थापाले नियमित अनुगमनसँगै विभिन्न निकायले गर्ने अनुगमनमा विषय विज्ञको हैसियतले आफ्नो सहभागिता हुँदै आएको जनाए ।

Translate »