मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप लगायत समस्या भएकाले मासु सेवन गर्दा सावधानी अपनाउनुपर्छ

दशैंमा मासुको अत्यधिक प्रयोग गर्नुहुँदैन । यससँगै सागसब्जी, फलफूल, पानी र सलाद पनि उत्तिकै सेवन गर्नुपर्छ । यसो गर्दा मासुका नकारात्मक असर कम गर्न मद्दत पुग्छ । यसले दशैंको समयमा हुने कब्जियतको समस्याबाट पनि बचाउँछ । सकेसम्म पोलेको मासु प्रयोग गर्नु हुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।

कसै कसैलाई मासु नपच्ने समस्या हुन्छ । यस्तो समस्या भएका मानिसले दैनिक कम्तीमा एक कचौरा दहीको सेवन गर्नुपर्छ । बिहान, खानापछि र दिउँसोको समयमा दहीको प्रयोग गर्न सकिन्छ । यसले पाचन प्रक्रिया चुस्त बनाउँछ । मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा खानुहुँदैन ।

बोसोको मात्रा कम गर्नु छ भने खसीको मासुबाट बोसो छुट्याएर उपभोग गर्नुपर्छ । तौल कम गर्न प्रयासरत हुनुहुन्छ भने मासु खाँदा भात र चिउराको मात्रा एकदमै कम गर्नुपर्छ । त्यस्तै, सलाद, सागसब्जी (आलु बाहेक)को उपभोग भने सकेसम्म बढाउनुपर्छ । ग्यास्ट्राइटिसको समस्या छ भने चिल्लो र पिरो कम गर्नुपर्छ । खानासँगै फलफूल, तरकारी, सलाद र दही सेवन गर्नुपर्छ ।

दशैंमा अन्य बेलाको तुलनामा मासुको उपभोग अत्यधिक गरिन्छ । मासुसँगै चिल्लो, नून, चिसो पेयपदार्थ, गुलियो र मदिरा पनि बढी सेवन गरिन्छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मिर्गौला रोग, युरिक एसिड, मोटोपन, कोलेस्टेरोल बढ्ने, कब्जियत, क्यान्सर, ग्यास्ट्राइटिसको समस्या भएकाहरूले मासु सेवन गर्दा विशेष ध्यान दिनुपर्छ । (आर्थिक अभियान)

Translate »