रत्नराज मार्गमा सवारी साधान चेकजाँचमा तीव्रता : आवाञ्छित गतिविधि रोक्न संयुक्त अनुगमन

स्काई न्यूज / असोज २३, सुर्खेत ।  चाडपर्व नजिकिँदै जाँदा राजमार्गमा हुने आवाञ्छित गतिविधि रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी साधान चेकजाँचमा कडाई गरेको छ । ट्राफिकले शनिबारदेखि रत्नराज मार्गमा यातायत व्यवस्थापन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मध्य पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ र राष्ट्रिय उपभोक्ता मञ्चको सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण तथा ओभरटन नियन्त्रण अभियानलाई तीव्रता दिएको हो । यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईको नेतृत्वमा शनिवार बिहानैदेखि रत्नराजमार्गका भेरीपुल, छिन्चु आसपासका विभिन्न स्थानमा सवारी चेकजाँच शुरु गरिएको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत कर्णाली भित्रिने सवारी दुर्घटना न्यूनिकरण गर्न चेकजाँचलाई कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनले कर्णाली प्रदेश प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको कागजात, क्षमता भन्दा बढी यात्रु बोक्ने, ओभरलोड, मापसे, यात्रुतानातान गर्ने, बढी भाडा असुल्ने जस्ता कार्यको चेकजाँच गरिएको जनाए । ‘नेपालीहरुको चाड, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना अन्तर्गत संयुक्त चेकजाँच अभियानलाई अघि बढाएका छौं,’ उनले भने, ‘ट्राफिक प्रहरीको अधिकतम् परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ सवारी चेकजाँचमा कडाई गरेका हौं ।’

उनले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने गरेको जनाए । उनका अनुसार शनिबार संयुक्त चेकजाँचका क्रममा ट्राफिक नियम विपरित सवारी साधान चलाउने तीन दर्जनलाई कार्वाही गरिएको छ ।

‘सुर्खेत ट्राफिकले जिल्लाका अति सम्वेदनशील १८ स्थानमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरेको छ,’ सुर्खेतका ट्राफिक प्रमुख आचार्यले भने, ‘दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएका छौं भने नाकाहरुमा २४ सै घण्टा चेकजाँच गरिरहेका छौं ।’ उनले चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिएको बताए । उनका अनुसार मुख्यत लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने गरिएको छ ।

‘चाडपर्वका बेला आम सर्वसाधारण तथा यात्रुलाई पकेटमार तथा अन्य आपराधिक गतिबिधि र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गरिरहेका छन्,’ ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख दिपक मल्लले भने, ‘यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिबार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिरहेका छौं ।’

 

उनले नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने अनियमिततालगायतका समस्या आउन नदिन ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी सजक र सक्रिय रहेको जिकिर गरे ।  यता यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले चाडपर्वमा बढी भाडा असुल्नेदेखि सवारी दुर्घटना बढी हुने भएकाले न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत सवारी चेकजाँच अनुगमनमा संलग्नता रहेको जानकारी दिए ।

उनले राजमार्गका सडकको अवस्था नाजुक बन्दै गईरहेका बेला हतारमा गन्तव्यमा पुग्ने सवारी साधन बढी दुर्घटनाको जोखिममा रहेकाले न्यूनिकरणका लागि चेकजाँचलाई कडाई पारिएको बताए । ‘साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा चाडपर्वका बेला दुर्घटना हुन सक्छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न चाडपर्व लक्षित सवारी चेकजाँच अभियानले सहयोग पुग्नेछ ।’ उनले सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न सवारी चालकलाई आग्रह गरे ।

यसैवीच मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रक्टर यातायात व्यवसायी संघले सवारी चालक तथा यात्रुलाई निःशुल्क मास्क तथा पानी वितरण गरेको छ । संघका अध्यक्ष चेतनकुमार थानी, महासचिव मदनकृष्ण सुवेदी, सचिव नवराज ढकाल, कोषाध्यक्ष सुमन लामिछाने, कार्यसमिति सदस्य केशव खत्री, कर्मचारी ईन्चार्ज भूपेन्द्र चपाई, भलाई कोषको कर्मचारी शुक्र चौधरी, छिन्चु चेक पोष्ट ईन्चार्ज दिपक श्रीसलगायतले सवारी दुर्घटना न्यूनिकरण तथा ओभरलोड नियन्त्रण सचेतनासँगै निःशुल्क मास्क तथा पानीका बोतल वितरण गरेका हुन् । संघका महासचिव मदनकृष्ण सुवेदीले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए । ‘सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ,’ उनले भने, ‘यातायात क्षेत्रको सुधारका लागि संघले विभिन्न निकायको समन्वय तथा सहकार्यमा काम गरिरहेकाले यसमा साथ दिन हामी सबैलाई आग्रह गर्दछौं ।’

Translate »