सुर्खेतमा १४७ औं विश्व हुलाक दिवस मनाइयो

स्काई न्यूज / असोज २३, सुर्खेत ।  सूचना र प्रविधिले धेरै फड्को मारिसक्दा पनि नागरिकको हुलाकप्रतिको विश्वास अझै कायम रहेको बताईएको छ । सरकारी कामकाजका लागि अझै पनि सक्कली डकुमेन्ट राख्नका लागि हुलाकी सेवा नै आवश्यक रहेको कर्मचारीहरु बताउँछन् । ‘पुनरुत्थानका लागि नवप्रवर्द्धक’ भन्ने नाराका साथ १४७ औं विश्व हुलाक दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै हुलाक निर्देशनालय सुर्खेत निर्देशक रेखा गौतमले अहिले पनि नेपालका सबै सरकारी कार्यालयले अनलाईन सेवाको पूर्ण उपयोग गरी नसकेको अवस्था भएको बताईन् । ‘सरकारले हुलाकलाई थप जिम्मेवारीसहित अघि बढाएको छ,’ उनले भनिन्, ‘अब हुलाक कार्यालयमार्फत राहदानी वितरणका गर्ने कार्य समेत थपिएकाले ‘सर्भिस सेन्टर’ का रुपमा कार्यालयलाई लिनुपर्छ ।’ उनले सूचना प्रविधि र सञ्चार माध्यमको समेत नियमनकारी निकाय हुलाकले पछिल्लो समय थप जिम्मेवारी सहित अघि बढेको बताईन् ।

हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकारी हितप्रसाद पौडेलले जिल्लाका सञ्चार माध्यमलाई केन्द्रमा धाउनुपर्ने बाध्यतालाई छा्ेट्याउदै जिल्ला हुलाकमार्फत लोककल्याणकारी विज्ञापनका भुक्तानी लगायत अनुगमन तथा नियमनगर्ने कार्य समेत भईरहेको जनाए । ‘पुराना सेवासँगै हुलाक कार्यालयलाई दिइएको जिम्मेवारी पुरा गर्न निर्देशनालय र मातहतका कर्मचारी तयार रहेका छन,’ उनले भने, ‘सरकारले हुलाकलाई थप विविधिकरण, विस्तारिकरण गर्दै समय सापेक्ष सेवाग्राहीमैत्री बनाउँदै लगिरहेको छ ।’ उनले हुलाक बचत बैंक सुर्खेतले हालसम्म ३८ लाख रुपैयाँ शुद्ध मुनाफा कमाउन सफल रहेको जनाए । उनका अनुसार करिब एक हजार निपेक्षकर्ता मार्फत हुलाक बचतले ३ कारोवारको कारोवार गर्दै आएको छ । हुलाक कर्मचारीहरुका लागि करिब १ करोड र निजी क्षेत्रका बैंकमा २ करोड लगानी बाट व्याज आर्जन गरिरहेको उनको भनाइ छ ।

हुलाक निर्देशनालयले दिवसको अवसर पारेर उत्कृष्ट कार्य गर्ने नायव सुब्बा प्रेमबहादुर शाही र कार्यालय सहयोगी सुरबहादुर खत्रीलाई सम्मान गरिएको निर्देशनालयका शाखाअधिकृत शोभा अधिकारीले बताईन् । उनले दिवसको अवसर पारेर कार्यालय सरसफाई, प्रप्रभातफेरीसँगै औपचारिक कार्यक्रम गरेर मनाईएको जनाईन् । दिवसको अवसरमा हुलाक प्रतिनिधि तिर्थराज कोइरालाले अतिरिक्त हुलाकका कर्मचारीहरुको बृत्तिविकासमा अझैपनि राज्यको ध्यान पुग्न नसकेको बताए । उनले न्यून बेतनमा काम गरिरहेका सुर्खेतका १ सय ४३ जना हुलाक प्रतिनिधि, पत्र वितरक र डाँक बहाकले मासिक ६ हजार रुपैयाँमा काम गर्नुपर्ने बाध्यता कायमै रहेको जनाए । उनका अनुसार अहिले पनि हुलाक प्रतिनिधिहरु पारिश्रमिक बृद्धि हुने र अवकास सुविधा पाइने आशमा ३६ वर्षदेखि सेवा दिईरहेका छन । ती मध्ये केही ७५ वर्ष उमेर समूहका समेत रहेका छन् ।

अस्तित्व संकट अझै टरेको छैन्
सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय संकटमा परेको छ । नेपालमा विसं १९३५ देखिशुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै आएपनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो । एक दशक अघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ ।

हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठी पत्र बोक्ने र पार्सलका केही सामग्री पु¥याउने काममा मात्र साँघुरिएको हुलाककै कर्मचारी बताउँछन् । जिल्ला हुलाक कार्यालय सुर्खेतमा २० वर्षभन्दा बढी सेवा गरी सेवानिवृत्त भएका एक कर्मचारीले भने, ‘एक दशक अघिसम्म चिठी पत्रको चापका कारण काम गर्न भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको छ ।’

सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको उनको भनाइ छ । सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड–सेकेण्डमा सूचना पाउने भएपछि चिठी पत्र र हुलाक सेवा दुबैको औचित्य घटेको उनी बताउँछन् । उनका अनुसार हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभई विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ ।

हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पहलकदमी भएपनि अझै पर्याप्त हुन नसक्दा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको हो । अब हुलाकलाई समयानुसार विविधिकरण गरि थप प्रतिस्पर्धी बनाएर सेवा तथा व्यवसाय विस्तार गर्न नयाँ प्रविधिसँग जोड्नुपर्ने औल्याईएको छ । सञ्चार क्षेत्रमा भएको विकासले हुलाकको सेवा ओझेलमा परेकाले प्रभावकारी बनाउन सरकारले प्याकेजमै काम गर्नु पर्ने देखिन्छ । हुलाक सेवा अहिले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकोमा विसं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरिएको छ ।

Translate »