कर्णालीका अपांगता भएका ९७ प्रतिशत बालबालिका शिक्षा लिनबाट वञ्चित

असार २३, सुर्खेत । कर्णाली प्रदेशमा अपांगता भएका बालबालिकामध्ये ठूलो संख्या विद्यालय शिक्षा लिनबाट वञ्चित भएको पाइएको छ । प्रदेशमा अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।

तीन प्रतिशतले मात्र विद्यालय जान पाएका हुन् । नेपाल राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको तथ्यांक अनुसार यहाँ करीब २० हजार ४०० जना बालबालिका अपांगता भएका छन् । यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँच बाहिर रहेका छन् ।

हाल कर्णालीमा अपांगता भएकाहरूका लागि अध्यापन गराइने ३९ ओटा स्रोत कक्षा छन् । जसमा ३३ ओटामात्र अहिले सञ्चालनमा रहेका छन् । स्रोत केन्द्र र एउटा विशेष विद्यालयमा गरी करीब साढे ७०० बालबालिकाले अध्ययन गरिरहेको राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले जानकारी दिएको छ ।

महासंघका अध्यक्ष विष्णुप्रसाद शर्माले विभिन्न स्रोत कक्षा र विशेष विद्यालयको छात्राबासमा बसेर पढ्ने अपांगता भएका बालबालिकाको संख्या साढे ७०० जति मात्र रहेको बताए । उनले भने, ‘बाँकी कतिपय सामान्य अपांगता भएका बालबालिकाहरू सामान्य स्कुलमा पनि पढ्छन् । त्यसको तथ्यांक भने राख्ने गरिएको छैन ।’
राज्यको लगानी जनचेतनामूलक कार्यमा पनि लगाउन सकिएमा अपांगता भएकाहरूलाई पनि विद्यालयको पहुँचमा पुर्‍याउन सकिने उनले बताए । उनले सामाजिक विकास मन्त्रालयले तयार पारेको शिक्षा नीतिको मस्यौदामा अपांगता भएका बालबालिकालाई पनि समावेश गरिएको जनाए ।

अपांगतामैत्री संरचना नहुँनु, भौगोलिक कठिनाइ, आवश्यक पर्ने पाठ्यसामग्री र शिक्षक अभावजस्ता समस्या रहेको सरोकारवालाहरूले बताएका छन् ।

सबैका लागि अनिवार्य शिक्षाको व्यवस्था भए पनि कर्णालीमा अपांगता भएका धेरैजसो बालबालिकाले आधारभूत शिक्षा समेत पाउन नसकेको उनी बताउँछन् । अरू विद्यालयहरूले अपांगता भएका बालबालिकाहरूलाई भर्ना लिन नचाहने, यस्ता बालबालिकाको शिक्षाको लागि राज्यको स्रोत परिचालन हुन नसक्नु जस्ता कारणले उनीहरू शिक्षाबाट वञ्चित भएको महासंघले जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख विष्णु अधिकारीले सरकारको बजेट जनचेतनाभन्दा पनि पूर्वाधारतर्फ बढी केन्द्रित हुँदा सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुन पुगेको बताए ।

Translate »