प्रदेश सरकार बोझमात्रै : थापा

पाँचथर — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रदेश सरकार प्रत्युत्पादक र खर्च बढाउने थलोमात्रै भएको टिप्पणी गरेका छन् ।

राप्रपा पाँचथरले बिहीबार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । स्थानीय सरकारलाई थप बजेट र अधिकार दिएर प्रादेशिक संरचना भंग गरे फरक नपर्ने उनको भनाइ थियो । महामारी र प्राकृतिक विपत्तिमा स्थानीय सरकारको उपस्थिति महत्वपूर्ण रहँदै आएको छ, मुलुकभर आएका बाढी, पहिरो र महामारी नियन्त्रणमा प्रदेश सरकारको भूमिका नै देखिएन, प्रदेश सरकार,संसद् र अन्य संरचना मुलुकका लागि बोझ साबित भइसके त्यसैले खारेज गरे फरक पर्दैन,’ थापाले भने ।अर्को एक प्रसंगमा थापाले कांग्रेस र कम्युनिष्ट पार्टीको अदूरदर्शिताकै कारण मुलुकमा संघीयता धरापमा पर्न थालेको उनको भनाइ थियो । कात्तिकमा हुने केन्द्रीय महाधिवेशनबाट पार्टीका सबै मुद्दा मिलाएर आगामी चुनावमा देशका प्रमुख शक्तिमध्येको एकमा पुर्‍याउने उनको दाबी थियो । (कान्तिपुर)

Translate »