सार्वजनिक गाडीलाई आजदेखि ‘रुट परमिट’ नचाहिने

असोज २१,काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ ।

अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् ।

यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

ट्रेलरलगायतका ठुला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

यो सडक खण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठुला गाडीलाई प्रवेशमा रोक लगाइएको हो । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् ।

विशेष गरी चाडपर्वमा त झन् गाडीको सङ्ख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दसैँका लागि बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै केही दिनयता यो सडक खण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् । (प्रशासन)

Translate »