‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

चाडपर्व लक्षित बजार अनुगमन

 

छिन्चुको बराल ईन्टरप्राईजेजले वीरगञ्जबाट ल्याएको उत्पादन मिति उल्लेख नभएको चामल विक्री वितरणमा रोक

 

स्काई न्यूज / असोज २०, सुर्खेत ।  कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनु भएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । उपभोक्ता संरक्षण ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ ।

बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले उपभोक्तालाई ठगी गरेको पाइएमा निरीक्षण अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उक्त ऐनमा उल्लेख छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाई वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ । बजार अनुगमनमा खटिइएका बजार निरीक्षण अधिकृतले पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु वा सेवाका उत्पादक, खरीद बिल वा बिजक नराखेमा पाँचदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।

त्यस्तै कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने र निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने तथा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने व्यापारीलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ । ऐनले निषेध गरेका कार्य दोहो¥याएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्न सक्ने व्यवस्था छ । बजार अनुगमन गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्न लागि परेको जिल्ला प्रशासन कार्यालयले उक्त ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले बुधबार भेरीगंगा नगरपालिकाको छिन्चु स्थित बराल ईन्टरप्राईजेजमा म्याद नाघेका केही खाद्य वस्तु जफत गर्दै उत्पादन मिति उल्लेख नभएको करिब ५० बोरा चामलको विक्री वितरणमा रोक लगाएको हो ।

वीरगञ्जको मनोज खाद्य उद्योगले उत्पादन गरेको सोना मन्सुली चामलको बोरामा उत्पादन मिति उल्लेख नगरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थाले जानकारी दिए । उनले उत्पादन मिति उल्लेख नगरि विक्री वितरण गरेको पाईएपछि विक्री वितरणमा रोक लगाईएको बताए । उनका अनुसार अबको १५ दिन भित्र उक्त चामललाई नष्ट वा फिर्ता नगर कानून अनुसार कार्वाही हुनेछ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बजारलाई व्यवस्थित, मर्यादित र सन्तुलित बनाउन अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाई निरन्तरता दिइरहेको जनाए । ‘हामीले उपभोक्ता ठगी गर्नेलाई तत्कालै जरिवाना वा जेल सजाए दिलाउन लागि परेका छौं,’ उनले भने, ‘चाडपर्व नभनी अनुगमनलाई निरन्तरता दिँदै अनुगमन टोली परिचालन गरेर ‘अन द स्पोट’ ठाउँका ठाउँ कार्वाही अभियान शुरु गरेका छौं ।’ उनले यसअघि अनुगमनका क्रममा कैफियत भेटिए सचेत गराउने र शिलबन्दी गर्दै आएको भएपनि चाडपर्वमा कैफियत भेटिए ऐनले व्यवस्था गरेको प्रावधान अनुसार कडाभन्दा कडा कारवाही गरिने जनाए । उनका अनुसार उपभोक्ता संरक्षण ऐनलाई सार्थक रुपमा कार्यान्वयन गर्न सुर्खेत प्रशासन जुटेको छ ।

यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य राजु केसीले अहिलेको संरचनाबाट उपभोक्ता ठगी गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न नसकिने भएकाले विशेषज्ञसहितको चुस्त र पारदर्शी स्थायी संयन्त्र बनाइनुपर्नेमा जोड दिए । उनले उपभोक्ताको अधिकार संरक्षणका लागि नियमित रुपमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, लेबल आदिको नियमन र अनुगमन गर्न आवश्यक रहेको औल्याए ।

Translate »