चाडपर्वमा हवाई यात्रा गर्दै हुनुहुन्छ ?

दशैं तिहारको सिजन सुरु भएको छ । घर जानका लागि सवारी साधन खोज्नुपर्ने चपेटाले धेरैलाई सताउन थालिसकेको छ । हवाई यात्राको लागि होस् या त सडक यात्राको लागि नै किन नहोस्, दशैं तिहारमा अग्रिम टिकट बुकिङको काम हरेक वर्ष चलिरहने कुरा हो ।

जुनसुकै सवारीमा पनि सामान्यतया सिट सुरक्षित होस् र अनावश्यक भाडाको शिकार नभइयोस् भन्ने उद्देश्यले अग्रिम टिकट काट्ने गरिन्छ । हवाई यात्रा गर्नेहरुको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नै नभएकोले शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् ।

धेरै मान्छेलाई एउटै गन्तव्यमा पनि हवाई टिकटको शुल्क फरक किन हुन्छ ? भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । हवाई सञ्चालकहरुले टिकटको मागको आधारमा यसको मूल्य निर्धारण गर्छन् । जस्तो कुनै गन्तव्यमा जानको लागि दशैंको समयमा धेरै यात्रुले टिकट खोज्छन् । जसले गर्दा माग बढेर यसको मूल्य पनि बढ्छ । नियमित उडान भइरहेको र सामान्य मौसम हुँदा यो मूल्य घट्न पनि सक्छ । त्यसैले यो मूल्य समय र जहाज कम्पनी अनुसार फरक फरक हुन सक्छ ।

एउटा कुरा चाहिँ सर्वसाधारणको लागि जहाजमा खाली सिट भए नभएको वा कति सिट बुकिङ भएको छ भन्ने हेर्ने सुविधा नहुँदा पनि धेरैलाई समस्या हुन्छ । त्यसैले केही अन्योल पनि बढाउन सक्छ । टिकटै काट्नको लागि खुलेका ट्राभल कम्पनीहरुले भने यो हेर्न पनि सक्छन् । त्यसैले डिमाण्ड कस्तो छ भन्ने थाहा पाउन कठिन छ । तर चाडपर्वमा बर्खाले बाटो भत्काएको बेलामा पनि विमानमा टिकटको मूल्य बढ्छ ।

हवाई टिकटमा बुझ्नुपर्ने कुराहरु

गाडीमा यात्रा गर्दा दोहोरो टिकट काटेर यात्रु ठग्ने गरेका धेरै समाचारहरु बन्छन् । तर हवाई टिकटमा समेत ठगी हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर कतिपयले हवाई टिकटमा समेत ठगी गरेको हुन सक्छ । त्यसैले यसमा पनि सचेत हुनुपर्छ ।

पहिलो पटक हवाई यात्रामा जानेहरुले ध्यानदिनु पर्ने कुराहरु धेरै छन् । जस्तो पहिलो पटक विमान यात्रामा जानेहरुलाई एयर होस्टेजले दिएको कपास केको लागि हो ? भन्ने यकिन नहुन सक्छ । यो विमानमा चढ्दा कानको सुरक्षाको लागि भनेर कानमा राख्न दिइएको हो । यस्तै धेरै जानकारीहरु विमान यात्राको क्रममा ध्यानदिनु पर्छ ।

हवाई कुन उमेरका बालबच्चालाई छुट हुन्छ ? भन्नेमा धेरैलाई जिज्ञासा हुन सक्छ । हवाई टिकट काट्दा सामान्यतया २ वर्षसम्मका बच्चालाई शुल्क लाग्दैन । एउटा यात्रामा सीमित शुल्क करको लागि तिरे पनि त्यसभन्दा बाहेक अरु शुल्क लाग्दैन । हवाई टिकटमा ज्येष्ठ नागरिकलाई छुट हुन्छ कि हुन्न भन्ने अर्काे जिज्ञासा हुन सक्छ । सरकारी नियम अनुसार ज्येष्ठ नागरिक एवं अशक्तहरुको लागि छुटको व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगममा यस्तो सुविधा कार्यान्वयनमा पनि छ । तर निजी वायुसेवा कम्पनीहरुले भने यसलाई त्यस्तो कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

कतिपयको सोख हुन्छ, आफ्नो यात्रामा आफूले घरमा पालेको कुकुर, बिरालो आदि आफूसँगै लैजान पाइयोस् । तर यो हवाई यात्राको क्रममा त्यति सहज भने छैन । अहिले झनै कोरोना महामारीको समयमा कुकुर, बिरालो जस्ता पशु चौपाया लैजान झनै कडाइ गरिएको छ । अरु बेलामा पनि यस्ता चौपाया लैजानको लागि विशेष बाक्सामा एयरलाइन्स कम्पनीलाई पूर्व जानकारी दिएर मात्रै लैजान पाइन्छ । यो हवाई सेवा कम्पनी अनुसार नियम फरक हुन सक्छ ।

अर्काे कुरा विमान यात्राको क्रममा मदिरा पानको कुरा । कतिपय अन्तर्राष्ट्रिय विमान यात्रामा यात्रुलाई मदिरा दिने गरिन्छ । तर के मदिरापान गरेर विमानमा यात्रा गर्न पाइन्छ त ? यो पाइँदैन । बाहिर मदिरा पिएर विमानमा यात्रा गर्न दिइँदैन । नेपालको आन्तरिक उडानमा त विमानभित्र पनि यो प्रतिबन्ध छ । यसरी यी र यस्तायस्तै जानकारीहरु लिएर विमान यात्रामा जाँदा धेरै हदसम्म सहज हुने गर्छ । (अनलाइन खबर)

Translate »