वर्षाका कारण अवरुद्ध सडक सञ्चालनको तयारीमा

टेकराज भण्डारी  / अछाम । वर्षाका कारण अवरुद्ध बनेका अछामका ग्रामीण सडक सञ्चालनका लागि पालिकाहरू जुटेका छन् ।

वर्षाका कारण बिग्रेका, भत्केका, पहिरो आएका सडक मर्मत गरी यातायात सुचारुका लागि पालिका जुटेका हुन् । जिल्लाको मङ्गलसेन नगरपालिकाले नगरका बिग्रिएका सडकको मर्मत शुरु गरेको छ ।

वडा नम्बर ७ को वडा कार्यालयसम्म सडक मर्मत गरिसकेको र बाँकी वडामा जोड्ने सडक पनि दशैँ अगाडी सञ्चालन गर्ने नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताए।

यस्तै मेल्लेख गाउँपालिकाका ग्रामीण सडक दशै अगाडी नै सञ्चालनमा आउने भएका छन् । गाउँ कार्यपालिका बैठकले अवरुद्ध ग्रामीण सडक दशैँ अगाडि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा वर्षाका कारण अवरुद्ध ग्रामीण सडक केही दिनमै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

गाउँपालिकाका नागरिकहरूको सहजताका यातायातको सुविधा उपलब्ध गराउन तत्काल सडक मर्मत तथा सुधार गरिने निर्णय गरिएको बताइएको छ । यस्तै कार्यपालिका बैठकबाट अनलाइन प्रणाली थप प्रभावकारी बनाउन प्रत्येक वडामा इन्टरनेट सेवा थप गर्ने निर्णय समेत पारित गरिएको छ ।

जिल्लाका कमलबजार, बान्नीगढीजयगढ, ढकारी, तुर्माखाँद, साँफेबगर लगायतका पालिकाले पनि दशैँ पहिले ग्रामीण सडक सञ्चालन गर्ने बताएका छन् ।

Translate »