वैदेशिक रोजगारीले दम्पतीको यौन-जीवन विथोल्दैछ–मनोविद् गोपाल ढकाल

जीवन गुजाराका लागि वैदेशिक रोजगारीमा जानेहरुको घर परिवारमा आउने आन्तरिक समस्याका घटनाहरु पछिल्लो समय बढिरहेको छ । विदेशमै छँदा घरमा रहेकी श्रीमतीमाथि गरिने शंकाउपशंका होस् या त वैदेशिक रोजगारीमा जानेका श्रीमतीहरु अर्कैसँग विवाह बन्धनमा बाँधिएका घटनाहरु आमसञ्चारमाध्यममा समेत धेरै आउने गरेका छन् ।

यस्ता समस्याहरु लिएर मनोवैज्ञानिकहरूकोमा मनोवैज्ञानिक परामर्शका लागि आउनेहरुको संख्या समेत बढेको मनोवैज्ञानिकहरु बताउँछन् । यस्ता घटनासँग जोडिएका यौन मनोवैज्ञानिक पक्षहरु कस्ता छन् ? हामीले मनोवैज्ञानिक गोपाल ढकाललाई प्रश्न सोधेका थियौं ।

वैदेशिक रोजगारीमा गएकाहरुमा यौन मनोविज्ञानका कारण कस्ता समस्या देखिने गरेका छन् ?

वैदेशिक रोजगारीमा गएका दम्पतीहरु पछिल्लो समय यौन मनोविज्ञानको शिकार बन्ने गरेका उदाहरणहरु धेरै पाइन्छन् । यसमध्ये कैयौं हामीकहाँ पनि मनोविज्ञानको लागि आउने गरेका छन् । जसले हाम्रो अहिलेको समाजको प्रतिनिधित्व गर्छ । साथै, हाम्रो समाज यौन मनोविज्ञानका कारण कतिसम्म भद्रगोल बन्दैछ भन्नेकुरा पनि यसबाट पुष्टि हुन्छ । यससँग मिल्ने केही उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छ ।

केही समय अघि एक जना विदेश गएका एक केटामान्छेले वैदेशिक रोजगारीमा गएको बेलामा आफ्नी श्रीमतीको चरित्रबारे परीक्षा लिन मन लागेछ । उनले श्रीमतीको नामबाट एउटा फेसबुक एकाउन्ट खोलेर चलाउन थाले । श्रीमतीका साथीहरुको रिक्वेस्ट आउन थाल्यो । बिस्तारै केटासाथीहरु जोडिए । उनले आफू श्रीमती जस्तै बनेर कुरा गरिरहे । अन्तरंग कुरा हुँदै गयो । अन्तमा उनी निष्कर्षमा पुगे कि उनकी श्रीमतीको नेपालमा चाला ठीक छैन ।

त्यसपछि उनले श्रीमतीलाई अनावश्यक दबाब दिन थाले । यता श्रीमतीलाई केही थाहा छैन । उनी मानसिक दबाबमा पर्न थालिन् । पछि बिस्तारै उनी मानसिक समस्याको शिकार हुन थालिन् । यस्तै यस्ता अनेक कारणहरु हुन्छन् जसले महिला र विदेशमा रहेका पुरुषलाई पनि मानसिक समस्यामा पारेको हुन सक्छ ।

वैदेशिक रोजगारीमा गएका दम्पतीबीच यौन मनोविज्ञानका कारण हुने समस्या बारे केही अध्ययन भएको छ ?

यसको बारेमा व्यवस्थित अध्ययन त भएको छैन । तर मनोपरामर्शका लागि आउने बिरामीहरुको संख्या र उनीहरुको मनोवैज्ञानिक समस्याको कारणलाई नियाल्ने हो भने वैदेशिक रोजगारीमा गएका दम्पतीहरुबीच यौन मनोविज्ञानका कारण नै यस्ता समस्याहरु देखिएको भेटिन्छ । मनोवैज्ञानिक परामर्शको लागि आउनेहरुमध्ये धेरैले अनावश्यक शंका उपशंकाका कारण समस्या निम्तिएको बताउने गरेका छन् ।

यही कारण परिवारमा विखण्डन सिर्जना हुने र यही कारणले हत्यासम्मका घटनाहरु सार्वजनिक हुने गरेका छन् । त्यसैले व्यवस्थित अध्ययन नभए पनि कतिपय असामाजिक गतिविधिमा यौन मनोविज्ञान मुख्य कारण रहेको भेटिएको छ ।

वैदेशिक रोजगारीसँगै पारिवारिक विचलन पनि बढ्दो छ । खासगरी दम्पतीको सम्बन्ध बिग्रने, टुट्ने घटना देखिन्छन्, यसमा यौन-मनोविज्ञानको भूमिका कति छ ?

कुनै पनि महिला र पुरुषलाई भावनात्मक रुपमा जोडिराख्ने एउटा आधार हो यौनसम्बन्ध । तर यही यौन सम्बन्धमा समस्या सिर्जना हुँदा यसले पारिवारिक विचलन ल्याउने गरेको हो । जुन वैदेशिक रोजगारीमा जानेहरुमा धेरै देखिन्छ ।

यौन सम्बन्ध एउटा त जैविक आवश्यकता हो । उनीहरुमा यौनावस्थामा पुगेका श्रीमान् र श्रीमती टाढा भएपछि त्यो आवश्यकता परिपूर्ति गर्न खोज्छन् । भर्खर विवाह गरेका श्रीमान् श्रीमतीबीच हुने यस्ता सम्बन्ध नियमित नहुँदा समस्या आउनु स्वाभाविक पनि हो ।

नीति शास्त्रले पनि सरकारी जागिर खानेको हकमा समेत यदि श्रीमान् श्रीमती टाढा छन् भने छुट्टि दिएर पनि उनीहरुलाई सँगै राख्नुपर्छ भन्ने गर्छ । तर वैदेशिक रोजगारीमा जानेहरुमा बिहे गरेर एकै महिनामा घर छाड्ने प्रवृत्ति बढी भएकोले पनि यसबाट समस्या निम्तिने गर्छ । त्यसैले दम्पतीको सम्बन्ध बिग्रने, टुट्ने घटना देखिन्छन्, यसमा यौन-मनोविज्ञानको भूमिका धेरै हुन्छ ।

यस्ता समस्याको मनोवैज्ञानिक समाधान कसरी खोज्न सकिन्छ ?

यस्ता समस्या समाधानका लागि यौनको वैकल्पिक उपाय सोच्नुपर्छ । अहिले श्रीमान्हरु टाढा हुँदा सेक्स टोय जस्ता वैकल्पिक यौन साधनहरु उपहारमा दिने चलन विदेशतिर पनि धेरै देखिन्छ । विदेश नै जानुपरे पनि विवाहपूर्व गएर विवाह पछि यतै केही इलम खोज्नु उपयुक्त हुन्छ । तर विदेश गएकाहरुले पनि श्रीमान् श्रीमतीबीच शंका नगर्ने, अन्तरंग कुराकानीका लागि उचित समय छुट्याउने जस्ता समाधानको उपाय खोज्न सकिन्छ ।

श्रीमान् विदेश गयो, श्रीमती यता अरुसँग आफ्नो शारीरिक इच्छा पूरा गर्न जाने र विदेशबाट फर्किएको श्रीमान्ले थाहा पाएपछि हत्या गर्नेसम्मका घटनाहरु सुनिन्छि । यो समस्या यौनलाई संकुचित रुपमा बुझ्दाको परिणाम पनि हो । त्यसैले यौनलाई खुल्ला बहसको विषय बनाएर छलफल गर्ने हो भने यस्ता समस्या निम्तिँदैनन् ।

श्रीमान विदेशिएपछि घर र बालबच्चा सम्हालेर बसेका श्रीमतीमा पनि यौन चाहना हुन्छ होला, त्यसले उनीहरुमा मनोवैज्ञानिक समस्याको जोखिम कति हुन्छ ?

यौन बच्चा जन्मिसकेपछि पनि मान्छेलाई उति नै आवश्यकताको कुरा हो । २८ वर्षदेखि ३५ वर्षसम्ममा मान्छेमा अर्काे चरणको यौन चाहना बढेर आउँछ भन्ने मनोविज्ञानमा उल्लेख छ । महिलाहरुमा महिनावारी रोकिने बेलाको उमेरमा यौन चाहना बढेर आउँछ भन्ने विश्वास गरिन्छ । यो समय बच्चा जन्माउन चाहन्छौ भने अन्तिम अवस्था हो है भन्ने संकेत दिन पनि प्राकृतिक रुपमा यो समयमा धेरै यौन उत्तेजना बढ्ने गर्छ ।

यो अवस्थामा मान्छेले धेरै माया ममता खोज्ने गर्छ । यी सबै भनेको यौन आकर्षणकै कारण हुने हो । मान्छेमा आत्मीयता जोड्ने आधार भनेको यौन हो । अन्यथा एकले अर्काेलाई देख्दैमा झर्काे मान्ने गर्छन् । त्यसैले बच्चा जन्मिसकेपछि पनि मनोवैज्ञानिक समस्याको शिकार हुने सम्भावना बढी रहन्छ ।

नेपालमै बस्नेमा यस्तो समस्या कति हुन्छ ?

नेपालमै बस्नेहरुमा पनि यस्तो समस्या धेरै देखिएको छ । अर्काे कुरा कतिपयले माया स्नेह नदिने र नियमित शारीरिक सम्पर्क नराख्ने हो भने पनि समस्या निम्त्याउँछ । मनोवैज्ञानिक परामर्श लिन आएका एक बिरामीले आफूहरुबीच पाँच वर्षसम्म शारीरिक सम्पर्क नभएको भन्दै एकले अर्कालाई शंका गरेर परिवारमा कलह निम्तिएको भन्ने गरेका थिए । त्यसैले यौन मनोविज्ञानलाई वैदेशिक रोजगारीसँग मात्रै हेरेर त हुँदैन । तर वैदेशिक रोजगारीमा जानेमा यस्तो समस्या धेरै हुने भएकोले यसको उपाय खोज्नुपर्ने आवश्यकता छ । (अनलाइन खबर)

Translate »