सुर्खेतबाट परीक्षणकालीन लाइसेन्स वितरण

स्काई न्यूज / असोज १७, सुर्खेत । सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले अब स्मार्ट कार्ड पर्खिन नपर्ने भएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्र वाहकलाई अइतबारदेखि परीक्षणकालीन कार्ड वितरण शुरु गरेपछि नयाँ सेवाग्राहीले स्मार्ट कार्डका लागि लामो समय कुर्नुपर्ने छैन । यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएको थियो । कतिपय ट्राफिक प्रहरीले रसिद देखाउँदा पनि जरिवाना काट्ने गरेको गुनासो बढ्दो थियो । क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण हुने भएपछि सेवाग्राहीले भोग्दै आएको समस्या पनि समाधान हुने भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र वाहकले लिखित तथा ट्रायल परीक्षा पास गरेपछि राजस्व दाखिला गरी रसिद काटेकै दिन परीक्षणकालीन कार्ड उपलब्ध गराइने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले जानकारी दिए । ‘क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो त्यस परीक्षण गर्न सकिन्छ,’ चपाई भने । प्रमुख चपाईका अनुसार विभागको एपमा कार्डको क्यूआर कोड स्क्यान गर्दा त्यसको विवरण देखाउँछ, नक्कली भए देखाउँदैन् । लामो समयदेखि नयाँ स्मार्ट कार्ड अभाव भइरहेका बेला परीक्षणकालीन कार्ड वितरणले सेवाग्राहीलाई सहज हुनेछ । कार्यालय प्रमुख चपाईले भने, ‘सेवाग्राहीले सास्ती खेप्नु नपरोस् भनेर परीक्षणकालीन कार्ड वितरण सुरु गरिएको हो ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन कार्ड वितरण सुरु भएसँगै एक वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि अन्त्य भएको कार्यालय प्रमुख चपाईले जानकारी दिए । स्मार्ट कार्ड नहुँदा दोष खेपिरहेका यातायात कार्यालयका कर्मचारीलाई परीक्षणकालीन कार्ड वितरणले राहत दिएको छ । हालैमात्र चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेका नयाँ सेवाग्राहीलाई परीक्षणकालीन कार्ड दिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । इगलआइ आइटी सर्भिस र मालिका इनकर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो ।

नेपाल कै कम्पनीले बनाएको सफ्टवेयर सरकारले विश्वास गरेकाले डाटाहरु सुरक्षित हुने व्यवस्था मिलाइएको इगलआइका म्यानेजिङ्ग डाइरेक्टर बिवेक खड्काले जानकारी दिए । ‘योसँगै ट्राफिक प्रहरीसँग हुने मोवाइल एप्सले शंका लागेका चालकको लाइसेन्स स्क्यानिङ गर्दा म्याचिङ्ग गर्नुपर्छ,’ खड्काले भने । उनका अनुसार यो निकै सजिलो र सहुलियतपूर्ण प्रविधिका रुपमा विकास गरिएको हो । परीक्षणकालीन चालक अनुमतिपत्रको शुभारम्भसँगै सेवाग्राहीले क्यूआर कोडसहितको आकर्षक अस्थायी लाइसेन्स प्राप्त गरेका छन् । कार्यालय प्रमूख चपाईले आफ्नो कार्यकालमा यातायात व्यवस्था कार्यालय सुर्खेतलाई व्यवस्थित गर्न गरिरहेको निकै प्रयास गरिरहेका छन् । यसैवीच भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले दुई जना सेवाग्राहीलाई परिचय पत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले ट्राल परीक्षा पास गरेकालाई लाईसेन्स नपाएर समस्या खेप्नु पर्ने बाध्यता हटेको जिकिर गरे । मन्त्रालयका सचिवले सेवालाई थप स्तरोन्नती गर्दै चुस्तदुरुस्त बनाउन मन्त्रालय प्रयासरत रहेको बताए ।

Translate »