फलामे छडको मूल्य घट्यो

असोज १७, काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ ।

नेपाल फलामे छड उत्पादक संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने बताएको हो ।

संघले आइतवार एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध उद्योगलाई प्रतिकिलो ४ रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छूट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छूट दिने तयारी भएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।

‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस संघ स्वागत गर्दछ । सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्न जाने जानकारी गराउदछौं’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा बजेट पछिका तीन हप्तामा अन्तरराष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पंज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी ४ रुपैयाँ घटाइ फलामे छड विक्री वितरण गर्न भनिएको छ ।

सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने ५ प्रतिशतको भन्सार र अन्तःशुल्कमा छूट दिएको भन्दै विलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस विलेट आयातमा प्रतिटन १ हजार ६५० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर २ हजार ५०० रुपैयाँ पु¥याइएको छ ।

सरकारको यस्तो व्यवस्थाले नेपालमै विलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर विलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् । रासस

Translate »