हुम्लामा छुटमा खाद्यान्न विक्री शुरु

असोज १७, हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छूटमा खाद्यान्न विक्री सुरुआत गरेको छ ।

कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रू. पाँच छूटमा खाद्यान्न विक्री गरिरहेको छ ।

जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छूटमा खाद्यान्न विक्री शुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छूट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रू. ५०० छूटमा विक्री वितरण गरिएको उनले बताए । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ ।

यसले गर्दा सेवाग्राहीले २५ केजीमा रू. १२५ र ३० केजीमा रू. १५० छूट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरीद गर्दा रू. ५०० छूट पाएका हुन् ।

कम्पनीले ३० केजीको खाद्यान्न विक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा रू. १५० छूट दिइएको छ  ।

जिल्लामा रहेका अन्य डिपो तथा विक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छूटको खाद्यान्न विक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जानकारी दिएको छ ।

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र विक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छूटमा विक्री शुरु गरिएको छ । यस वर्ष छूटमा खाद्यान्न विक्री हुँदा यहाँका नागरिक खुसी छन् । छूटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिए ।

हरेक वर्ष दशैँ–तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छूटमा खाद्यान्न विक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन । रासस

Translate »