कार्पेट किन्दा ध्यान दिनैपर्ने आधारभूत पक्ष

काठमाडौं । अहिले बजारमा विभिन्न डिजाइन, रंग र गुणस्तका कार्पेट उपलब्ध छन् । खासगरी कोठाको सजावट र भुइँको चिसोबाट जोगिनका लागि घर, विद्यालय, अफिस, होटेल, रेस्टुराँ, पसल सबै ठाउँमा कार्पेटको प्रयोग हुँदै आएको छ । कार्पेटको गुणस्तर, त्यसमा प्रयोग गरिएको कच्चा पदार्थ र डिजाइनअनुसार यसको मूल्य कायम गरिएको हुन्छ । कार्पेट किन्दा आफ्नो कोठाको आकार, आफूसँग भएको बजेट र चाहनाले पनि भूमिका खेलेको हुन्छ ।

कार्पेट प्रयोगले कोठामा सधैं पोछा लगाउनुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएकाले पनि यसको उपयोगिता बढ्दै गएको हो । सबैभन्दा पहिला कस्तो कोठाका लागि कार्पेट किन्ने हो, त्यसमा ध्यान दिनु जरुरी हुन्छ । कार्पेट व्यवसायीका अनुसार पछिल्लो समय महामारीका कारण कार्पेट बन्ने कच्चा पदार्थ महँगिएकाले यसको मूल्य पनि महँगो भएको छ । त्यसैले कार्पेट किन्नुअघि गुणस्तर, मूल्य आदि विषयमा ध्यान नदिइए आफूले लगानी गरेको पैसा खेर जान सक्छ ।

नेपाली बजारमा कमसलदेखि निकै महँगा र आकर्षक कार्पेट उपलब्ध छन् । ग्राफिक्स, रिब्ड, जकार्ड, भेलोर, स्ट्राइप, प्रिन्टेड, यती, एसटी कार्पेट आदि नेपाली बजारमा प्रचलित उत्पादन हुन् । घरको कोठामा प्रायजसो भुवादार कार्पेट किन्नु राम्रो हुन्छ । यसले कोठाको शोभा बढाउनुका साथै भुइँको चिसोबाट समेत बचाउने गर्छ । लिभिङ रुमका लागि कार्पेट किन्दा दाग नबस्ने खालको किन्नु बुद्धिमानी ठहर्छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानका अनुसार नेपालमा अहिले प्रायजसोले फेब्रिकबाट बनेका कार्पेरु प्रयोग गरिरहेका छन् । जाडो महिनामा कोठाको भुइँ न्यानो राख्न सहयोग गर्ने हुनाले यसको प्रयोग बढेको उनी बताउँछन् । कार्पेट खरिद गर्दा केही महँगो परे पनि राम्रो र गुणस्तरीय कार्पेट नै किन्नुपर्ने उनको धारणा छ । सस्तो खाले कार्पेटले मानिसको स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने हुँदा प्रयोग नगर्न उनको सुझाव छ । घरको कोठाका लागि खासगरी पोली प्रोप्लिन कार्पेट बढी राम्रो हुने उनी बताउँछन् । यसबाट बनेका कार्पेट महँगा भए पनि बढी टिकाउ र मुलायम हुने गर्छन् ।

भान्सा कोठा, अफिस रुम र होटललगायत स्थानमा प्लास्टिक प्रयोग गरेर बनाइएका कार्पेटको प्रयोग धेरै हुने गरको छ । सफा गर्न पनि सजिलो हुने भएकाले ती स्थानमा यसको प्रयोग बढेको हो । यस्ता कार्पेट कम टिकाउ र मूल्यका हिसाबले पनि सस्तो पर्दछ । (आर्थिक अभियान)

Translate »