सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गरिँदै

स्काई न्यूज / असोज १४, सुर्खेत । सुर्खेतमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गर्न लागिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेको उजुरीहरुको लिस्टमा समावेश भएका पीडित परिवारका व्यक्तिहरुलाई मात्र परिचयपत्र वितरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असोज १७ गते प्रशासन कार्यालयमा आएर परिचयपत्र लिन बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सूचित गरेको छ ।

परिचय पत्र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य विश्वप्रकाश भण्डारीकै उपस्थितिमा वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानामगरले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट ५६ जनाको बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको छ । द्वन्द्वका बेला जिल्लाबाट धेरै व्यक्ति बेपत्ता भएको उजुरी आयोगमा परेपनि तीमध्ये ५६ जनाको परिवारलाई मात्र परिचयपत्र वितरण गर्न लागिएको हो ।

परिचयपत्र पाएपछि बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यले शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहुलियत पाउने आयोगले जनाएको छ । बेपत्ता भएका व्यक्तिको नाममा कुनै पार्टी, पौवा, विद्यालयलगायत सार्वजनिक स्थानको नामाकरणलगायत पीडितको इच्छाअनुसारका सामाजिक कामसमेत गर्न आयोगले सरकारलाई सिफारिस गर्दैछ ।

आयोगले सबै पीडितलाई परिचयपत्र बाँडेपछि मात्र सरकारलाई परिचयपत्रधारी व्यक्तिले पाउने सुविधा र सहुलियतबारे सिफारिस गर्ने भएकाले परिचयत्र पाएका व्यक्तिले अहिल्यै सुविधा उपयोग गर्न भने पाउने छैनन् । सरकारले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्मको सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको छानबिन गर्न २०७१ माघ २७ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको थियो ।

Translate »