नेपालमा हालसम्म कोभिडविरुद्ध कति खोप आयो? कतिले लगाए?

काठमाडौं- नेपालमा कोभिडविरुद्धको खोप लगाउने काम चलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३२ प्रतिशत पुगेका छन्  ।

नेपालमा हालसम्म ४ प्रकारका कोभिड खोप ल्याइएको छ। कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर नेपालमा अहिलेसम्म १ करोड ७८ लाख ५८ हजार ७१० डोज खोप नेपाल आइसकेको छ। यी खोपमध्ये नेपालमा १ करोड २९ लाख ५८ हजार ५०८ डोज खोप लगाइसकिएको छ  ।

कुन खोप कति आयो ?
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, एस्ट्राजेनेका १९ लाख ७५ हजार ८६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख डोज खोप आइसकेको छ ।

कति खोप लगाइयो?
तथ्यांक अनुसार नेपालमा पहिलो डोज खोप लगाउनेको संख्या ६९ लाख ६० हजार ८२८ पुगेको छ। यस्तै दुवै डोज खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० पुगेको छ ।

कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा २७ लाख ५ हजार ३२३ र दोस्रो डोज १५ लाख १४ हजार ५९८ जनाले लगाएका छन् ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा ४२ लाख ५५ हजार ५०५ जना र दोस्रो डोज ३२ लाख १ हजार १३५ जनाले लगाएका छन् ।

यसैगरी एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप १४ लाख ९ हजार ३७ जनाले लगाएका छन् ।  (स्वास्थ्य खबर)

Translate »