घरको सिलिङबाट पानी चुहिन्छ ? यसरी गर्नुस् रोकथाम

काठमाडाैं । घर निर्माण गरेर मात्रै हुँदैन, त्यसको रेखदेख झनै महत्वपूर्ण हुन्छ । घरको माथिल्लो तलाको सिलिङबाट पानी रसाएर चुहिने अर्थात् सीपेजको समस्याबाट धेरै घरधनी वाक्कदिक्क भएको पाइन्छ । यस्तो समस्या ०७२ को भूकम्प पहिले बनेका र पुराना घरमा बढी देखिएको विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारले बताउँछन् ।

पक्की घरको ढलानबाटै हुने यस्तो समस्या घरधनीका लागि बढी टाउको दुखाइको विषय किन पनि बन्छ भने अधिकांश यस्ता सीपेज कुन बिन्दुबाट भएको हो भन्ने यकिन गर्न गाह्रो हुन्छ । कुनै बिन्दुबाट सुरु भएको सीपेज विस्तारै रसाएर अलग्गै ठाउँबाट चुहिने सम्भावना भएको हुँदा पनि यसको निश्चित ठाउँ पत्ता लगाउन चुनौतीपूर्ण हुन्छ । यसबाट कतिपय अवस्थामा पूरै छतलाई नै मर्मत गर्नुपर्ने हुन सक्छ, जुन समय र खर्चको हिसाबले अधिक महँगो पर्न जान्छ ।

सीपेज समस्याका कारण मर्मत झन्झटिलो र महँगो पर्न सक्ने भएकाले घर निर्माणको समय छत ढलान तथा प्लास्टर बिछ्याउँदा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । घर निर्माणका लागि ठेकेदारलाई जिम्मा दिएपछि उसैको भर पर्ने बानी हामी अधिकांशमा हुन्छ । कामको व्यस्तताले पनि हामीमाथि त्यस्तो बाध्यता आउन सक्छ । तर, ढलान तथा प्लास्टर लगाउने समय आफैं उपस्थित भएर ढलानका लागि तयार पारिएको मसला (गिटी, सिमेन्ट र बालुवाको घोल) मा चाहेको वा ठेकदारसँगको सहमति र मापदण्डअनुसार भए÷नभएको यकिन गर्नुपर्दछ । घरको सबैभन्दा माथिल्लो गढलान गर्दा उपयोग हुने मसलामै पानी प्रतिरोधक (वाटरप्रुफ) केमिकल मिसाएर ढलान गर्नाले भविष्यमा सीपेज हुने सम्भावनालाई हटाउन सक्छ ।

ढलानकै समय विचार गर्नुपर्ने दोस्रो कुरा भनेको मसला खन्याइसकेपछि त्यसलाई राम्ररी घुलमिल गर्न लगाउनुपर्दछ । राम्ररी ‘भाइब्रेट’ नगरे ढलान बीचमै खाली ठाउँ ( रहन सक्ने र त्यस्तो खाली ठाउँ पछि सीपेज हुने कारण बन्न सक्छ । छत ढलानकै समय ध्यान दिनुपर्ने तेस्रो महत्वपूर्ण कुरा भनेको छतमा पानी जमाएर राख्नु हो । ढलान जमिसकेपछि पानीलाई घेरेर जमाउने सामान्य प्रचलन भए पनि यसरी पानी जमाउने क्रममा तोकिएको अवधि कम्तीमा सात दिन पूरा भएको यकिन गर्नुपर्दछ । यसरी जमाएर राखेको पानी तल चुहे/नचुहेको यकिन गर्नुपर्दछ । उक्त अवधिमा पानी चुहिए तत्काल पुनः मर्मत गर्नुपर्ने हुन्छ भने नचुहिए ढलान मापदण्डअनुसार भएको ठानिन्छ ।

ढलानपछि छतको बाहिरी भाग चिल्ल्याउने समय कोरा मसिनो गर्ने क्रममा बर्खाबाट जम्मा हुने पानी सजिलै उपयुक्त निकासबाट बाहिर जाने व्यवस्था गरिनुपर्दछ । यसरी चिल्याउने क्रममा अन्यत्र अग्लो र निकासतर्फ थोरै होचो हुनु आवश्यक छ । ठूलो क्षेत्रफलको छतमा अग्लो, होचो मिलाउन चुनौती हुन सक्छ । निकासतर्फ होचो नभई पानी निकास जम्ने र त्यही जमेको पानी विस्तारै रसाउनु सीपेज हुने एक प्रमुख कारण हो । त्यसैले छत चिल्याउने समय पनि विशेष ध्यान दिनु जरुरी छ । छत चिल्याउँदा उपयोग हुने सामग्रीमा पनि पानी प्रतिरोधी केमिकल मिसाउनाले सीपेज रोक्न थप बल पुग्छ ।

छतका साथै भित्ताबाट पनि पानी रसाउने समस्या समयान्तरमा हुन सक्छ । भित्ताबाट पानी रसाउने समस्याको मुख्य कारण पानीको पाइप हो । नवनिर्मित घरमा पानीको पाइप पर्खाल भित्रैबाट राख्ने वा बाहिर राख्ने विकल्प हुन्छन् । पानीको मुख्य पाइप पर्खाल बाहिरै राख्नाले केही समस्या आए पर्खालमा सीपेज हुने समस्या हुँदैन । पाइपमा कुनै खराबी आएमा बाहिरैबाटै देख्न सकिने हुदाँ मर्मतसम्भार गर्न सजिलो हुन्छ । मुख्य पाइपबाट बाथरुम वा भान्सामा लगिएको पाइप पर्खाल भित्रैबाट लैजाने गरिन्छ । त्यस्तो पाइपका जोर्नीमा सावधानीपूर्वक जोड्न र पानी नचुहिने यकिन गर्न सम्बन्धित काम गर्ने व्यक्तिलाई भन्नुपर्दछ । भित्ता तथा छतको भित्री भागमा लगाइने रंगरोगन पनि हिजोआज पानी प्रतिरोधि तत्वयुक्त पाइन्छ । रंगरोगन गर्दा स्तरीय पेन्ट प्रयोगले पनि पानी रसाउने समस्याबाट मुक्तिका लागि केही सहयोग गर्दछ ।

छत वा पर्खालबाट पानी रसाउने समस्या हुनै नदिन माथि उल्लिखित सावधानी अपनाएपछि पनि केही गरी सीपेज भए थाहा पाउनेबित्तिकै समाधानको उपाय खोजिहाल्नुपर्दछ । थोरै हो भनेर बर्खा सकिएपछि आफैं रोकिनेजस्ता सोचाइ राख्नाले समस्या झन् बढ्छ र मर्मत गर्न बढी झन्झटिलो र महँगो पर्न जाने हुन्छ । कुनै कारणले छत फुटेर (क्र्याक) भएको सामान्य सीपेज हो भने बजारमा पाइने केमिकल जस्तै, डाक्टर फिक्सइट र सिमेन्टको माध्यमबाट आफैं समाधान गर्ने प्रयास गर्न सकिन्छ । अन्यथा दक्ष प्राविधिककै सहयोग लिइहाल्नुपर्दछ । त्यस्तो मर्मतसम्भारका लागि हिजोआज काठमाडौंलगायत ठूला सहरमा पुरानो घरसंरचना मर्मतसम्भार गर्ने दक्ष र व्यावसायिक कम्पनी वा प्राविधिकलाई सजिलै पाउन सकिन्छ । (आर्थिक अभियान)

Translate »