जनचेतनाको कमीले ‘साइलेन्ट किलर’ बन्दै रेबिज

६ वर्षमा नेपालमा रेबिजबाट ८७ जनाको मृत्यु

काठमाडौँ — ५ वर्ष अगाडि भक्तपुरका ३० वर्षीय युवक घरनजिकैको जंगलमा टहलिन गएका थिए । सानो कुकुरको छाउरो देखेर उनले मायाले समाते । तर त्यो छाउरोले उनको हात र खुट्टामा टोक्यो । स्थानीयले भने स्यालको बच्चा ठाने । ती युवालाई साथीभाइ तथा परिवारले रेबिजविरुद्धको खोप लगाउन भनेर धेरै कर गरे । तर उनी सानो घाउ हो भनेर बेवास्ता गरिरहे । उनलाई जनावरले टोकेको ६–७ महिनामा रेबिजको लक्षण देखियो । केही दिनमा उनको मृत्यु भयो ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा गोदावरी बस्ने अन्दाजी १८ वर्षीया एक युवती रेबिज रोगको लक्षण लिएर आइन् । बाटोमा हिँड्दा उनलाई कुकुरले टोकेको रहेछ । कुकुरले टोकेपछि खोप लगाउनुपर्छ भन्ने थाहा भए पनि घाउ सानो छ भनेर उनले लगाइनन् । जबकि केही समयअघि आफ्नो बहिनीलाई कुकुरले टोक्दा अस्पताल ल्याएर खोप लगाएकी थिइन् ।

करिब ३ वर्ष अगाडिका घटना सम्झिँदै अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सुनाउँछन्, ‘म मर्दैछु भन्ठानेर ती बहिनी एकदमै रोइन् । मैले किन गल्ती गरेँ? खोप किन लगाइन भनेर उनी पछुताइरहेकी थिइन् ।’

कुकुरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ भनेर जान्दाजान्दै पनि बेवास्ता हुने गरेको डा. पुन बताउँछन् । ‘कुकुर तथा जनावरले टोक्नासाथ जतिसक्दो छिटो खोप लगाउनुपर्छ । टोकेको केही हप्ता केही वर्षसम्ममा लक्षण देखिन्छ यसबीचमा खोप लगाउन पायो भने उसको जीवन रक्षा हुन्छ । नत्र घाइतेको ज्यान जान्छ,’ उनले भने । नेपालमा २०७० देखि २०७६ सम्म कुकुर र अन्य जनावरले टोकेर रेबिजको संक्रमण भएका ८७ जनाको मृत्यु भएको छ ।

रेबिज के हो?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का अनुसार रेबिज बौलाहा जनावरको टोकाइबाट मानिसलाई सर्ने प्राणघातक रोग हो । यो रोग लाइसा नामक स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरस संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो बहुँदै शरीरभित्र छिरेर स्नायु नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ ।

हरेक वर्ष विश्वमा रेबिजको कारणले ५९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । हरेक वर्ष विश्वमा १ करोड मानिसलाई रेबिज रोगको उपचारको आवश्यकता हुन्छ । एसियामै मात्र रेबिजबाट ३५ हजारभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको छ ।

नेपालमा हरेक वर्ष रेबिजका एक सय नयाँ बिरामी देखिन्छन् । धेरै बिरामी त अस्पतालमा भर्ना नभएको कारणले थाहा नै पाइँदैन । नेपालको लगभग आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एक चौथाइ जनसंख्या मध्य जोखिममा रहेको ईडीसीडीको भनाइ छ ।

रेबिजका लक्षण के–के हुन् ?

ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोच्ने पोल्नेजस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरु सुन्निने हुन्छ । रेबिज लागेको मान्छेको क्रियाकलापहरु र व्यवहारहरु अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मृत्यु हुन्छ ।

रेबिज कसरी सर्छ ?

रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्‍यालको माध्यमले सर्छ । त्यसैगरी रेबिज रोग लागेको जनावरले घाउ, चोटपटक, लागेको छालामा चाटेमा वा र्‍याल पर्न गएमा पनि यो सर्ने सम्भावना हुन्छ ।

कुकुर तथा अरु जनावरले टोकेमा के गर्ने?

  • जनावरले टोकेको घाउलाई तुरुन्त १० देखि १५ मिनेट सम्म साबुन पानीले राम्ररी सफा गर्ने, साबुन नभए पानीले भए पनि पखाल्ने
  • उपलब्ध भएमा घाउलाई ७० प्रतिशत इथानोल अल्कोहल वा पोभिडोन आयोडिन लगाउने
  • चिकित्सकको सल्लाहबमोजिम रेबिजविरुद्धको खोप लगाउने

चिकित्सकहरुका अनुसार यदि कुनै जनावरले छुँदा अथवा खुवाउँदा जनावरले घाउ नभएको छालामा चाट्दा भने खोप चाहिँदैन तर जनवारले टोक्दा छालामा खोस्रेको भएमा घाउ सफा गरी तुरुन्त खोप लगाउनुपर्छ । त्यसैगरी टोकेर छालमा एक वा एकभन्दा बढी गहिरो घाउ भएको, टोकेर रगत बगेको भएमा तुरुन्त रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्दछ ।

नेपालमा जनावरको टोकाइ तथा रेबिजको अवस्था

ईडीसीडीकी पशु चिकित्सक डा. रोशिका श्रेष्ठका अनुसार रेबिजका कारणले मृत्युको रिपोर्टिङ पर्याप्त नभएकाले यसको तथ्यांक उपलब्ध छैन ।

खोप नि:शुल्क उपलब्ध भए पनि अस्पताल पुग्दैनन् मानिस

नेपाल सरकारले रेबिजविरुद्धको खोप नि:शुल्क उपलब्ध गराए पनि मानिसहरु अझै पनि खोप लगाउन केन्द्रमा पुग्ने गरेका छैनन् । युरोपका धेरै देशहरुमा र उत्तर अमेरिकाले कुकुरको अनिवार्य खोप कार्यक्रम तथा मानिसका लागि रेबिज खोपको राम्रो प्रबन्ध गराएर रेबिज उन्मूलन गरिसकेका छन् ।

प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन विश्व रेबिज दिवस मनाइन्छ । नेपालमा जनचेतनाको प्रवाहको कमी देखिएको छ । रेबिजबाट हुने मानव मृत्युलाई शून्य बनाउने र रेबिज रोगलाई सन् २०३० सम्म निवारण गर्ने विश्वव्यापी लक्ष्यप्राप्तिका लागि यस रोगको खोप र उपचारको उपलब्धताका लागि ईडीसीडीले प्रतिबद्धता जनाएको छ ।

ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार सबै घरपालुवा कुुकुरलाई खोप लगाउन सके पक्कै पनि रेबिजको संक्रमण कम हुन्छ । समयमा खोप नलगाउँदा पनि रेबिजबाट मृत्यु हुनेको संख्या बढेको उनी बताउँछन् । ‘रोगको पहिचानमा ढिलाइ हुनाले पनि यसबाट मानिसको मृत्यु भइरहेको छ । संसारमा धेरै देशले निवारण गर्दै गर्दा हाम्रोमा अझै पनि रेबिजको कारणले ज्यान गइरहेको छ त्यो दु:खद हो,’ उनले भने ।

ईडीसीडीका पशु चिकित्सक डा. रोशिका शाक्य भन्छिन्, ‘खोप लगाउनुपर्छ भन्ने ज्ञान छ तर सही मात्राको खोप लगाउनुपर्छ भन्ने जानकारीको कमी छ । त्यसैगरी सानो बच्चालाई कुकुरले टोक्यो भने रेबिज लाग्दैन भन्ने मनिसमा भ्रम छ, त्यो सत्य होइन ।’ नेपाल सरकारले प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको नि:शुल्क खोप उपलब्ध गराएको भन्दै टोकेमा खोप लगाउन उनले सुझाइन् ।नगरपालिका, पशुअधिकारसम्बन्धी काम गर्ने संस्थाले कुकुरलाई एन्टिरेबिजको खोप लगाउने र बन्ध्याकरण गर्दै आइरहेका छन् । तर अभियान सबैतिर पुग्न सकेको छैन ।

‘यो रोगलाई मैले त साइलेन्ट किलर नै भन्छु । भित्रभित्र रुपमा मानिसहरु मरिराख्ने बाहिर त्यति नसुनिने रोगमा पर्छ यो । शतप्रतिशत मृत्यु गराउने भए पनि शतप्रतिशत खोपबाट निको हुने रोग हो तर सही समयमा सही तरिकाले खोप लगाउनपर्छ,’ डा. पुन भन्छन् ।

सहजै खोप पाइए पनि रेबिजबाट मृत्यु भइरहेकाले यसमा सरोकारवाला सबै गम्भीर हुनुपर्ने डा. पुनको भनाइ छ । ‘सजिलोसँगै नि:शुल्क खोप पाउने भए पनि किन मानिसको मृत्यु भइरहेको छ ? त्यसमा विचार गर्नुपर्छ । स्वास्थ्यकर्मी मात्र होइन औषधि पसललेलाई पनि यसबारे जनचेतना दिनुपर्छ,’ उनले भने ।

आफ्नो घर पालुवा कुकुरलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्छ । बहुला कुकुरले टोकेको अवस्थामा अस्पतालमा गई रेबिजविरुद्धको खोप लगाउन चिकित्सकहरुको सुझाव छ । (कान्तिपुर)

Translate »