जुम्लाका २५० विपन्न नागरिकले पाए सुरक्षित आवास

सागर परियार/ जुम्ला । तातोपानी गाउँपालिका २ जर्मी गाउँका हरिसिंह दमाई ले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिक स्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उहाँलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मक्ख छन् । गएको केही महिना पहिले शनिवारको साइत गरेर परिवार नै नयाँ घरमा सरेको हरसिंह दमाई बताए ।

उनले भने,“अन्तिम किस्ता पाउन त बाँकी छ । तर बस्ने सुरक्षित आवास पाइयो त्यसमै खुसी छु । पुरानो घरमा पानी पर्दा रातभरि जाग्राम बस्नु पर्थ्यो । अहिले निकै सुरक्षित महसुस भएको छ ।”

त्यस्तै सोही जर्मी गाउँका कन्न कामीले पनि जनता आवास कार्यक्रमको सुरक्षित आवास पाएका छन् । छोरा बुहारीबाट छुटै बसेका कामीमा श्रीमान् श्रीमती पुरानो भत्किएको घरमा बस्थे अहिले जनता आवासको घर बसिरहेका छन् ।

सरकारी लगानी र प्राविधिक स्टमेट बाट बनेको भूकम्प प्रतिरोधी घर पाउँदा कन्न कामी पनि औधी खुसी छन् । आर्थिक हिसाबले अति विपन्न कामी बासको ग्यारेन्टी भएपछि गाँस र कपासका लागि मेहनत गर्ने हौसला मिलेको उनको भनाई छ ।

तातोपानीका हरसिंह र कन्न जस्तै जुम्लाका २ सय ५० विपन्न नागरिकले गत आव २०७७/७८ मा जनता आवास कार्यक्रम अन्तर्गतका सुरक्षित आवास पाएका छन् । जसमा चन्दननाथ नगरपालिकामा ३२, तातोपानी गाउँपालिकामा २९, पातारासीमा २६ गुठिचौरमा ३८ जनता आवासका घर निर्माण भएका छन् । त्यस्तै, तिला गाउँपालिकामा ३०, हिमामा ३०, सिंजामा ३० र कनकासुन्दरीमा ३५ गरी जम्मा २ सय ५० वटा सुरक्षित आवास गत आवमा निर्माण सम्पन्न भई प्रयोगमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूप बहादुर रावलले बताए ।

उनले भने,“घर निर्माण कोरोना कहरका बीच पनि समयमै सम्पन्न भएका छन् । तर बजेट अभावले अन्तिम किस्ता दिन बाँकी छ  । पटक पटक माग गर्दा पनि बजेट आएको छैन । पहल जारी छ ।”

लाभग्राही छनोट देखि निर्माणका क्रममा कार्यालय प्रमुख रावलले स्वयम परामर्श गरेका कारण विगतको तुलनामा घरहरू प्रयोगमा आएका छन् । जनशक्ति अभावका बीच एकै प्राविधिकको भरमा जिल्लाका आठै तहमा पुगेर अनुगमन निरीक्षण गरी जनता आवासका घर समयै निर्माण भएका थिए ।

प्रमुख रावल भन्छन्,“जनता आवासका लाभग्राहीलाई तेस्रो किस्ताको थोरै र पुरै अन्तिम किस्ताको रकम दिन बाँकी छ । करिब २ करोड ३५ लाख बजेट अपुग छ । माग गरेका छौ । बजेट आउने बित्तिकै लाभग्राहीको खातामा पठाउँछौ ।”

लाभग्राहीले किस्ता हाल्न ताकेता गरे पनि बजेट  निकासा नभएकोले परामर्श  गर्दै बजेट आएको छैन भन्दै पठाउने गरेको उनको भनार्ई छ ।

प्रतिव्यक्ति ३ लाख ३६ हजारका दरले विनियोजित ८ करोड ७५ लाख बजेट मध्य पहिलो किस्तामा प्रतिव्यक्ति ८४ हजारका दरले २ करोड १० र दोस्रो किस्तामा ६५ हजारका दरले १ करोड ६२ लाख ५० हजार लाभग्राहीका खातामा पठाइएको छ । साथै तेस्रो किस्ता पनि लाभग्राहीको खातामा गइसकेको छ । भने अन्तिम किस्ता मात्रै बाँकी रहेको छ ।

Translate »