आगामी एक हप्तासम्म मनसुन जारी रहने

काठमाडौँ । नेपालमा आगामी एक हप्तासम्म मनसुन जारी रहने र केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः अङ्ग्रेजी महिनाको सेप्टेम्बर २३ देखि नै नेपालबाट मनसुन बाहिरिने भए पनि यस वर्ष अक्टुवर २ तारिखको वरिपरि सम्म मनसुन सक्रिय रहने अवस्था रहेको मौसमविद् मञ्जु वासीले बताए।

मौसम विभागले हरेक १० वर्षको अवधिको मनसुनी अवस्थालाई विश्लेषण गरी नेपालमा मनसुन भित्रने र बाहिरिने समय निर्धारण गर्ने गरेको र यस वर्षदेखि अक्टुवर २ लाई नै औपचारिक रूपमा मनसुन बाहिरिने मिति निर्धारण गरिएको मौसमविद् वासीले बताए ।

यस अगाडि जुन १० मा नेपालमा मनसुन सुरु भई सेप्टेम्बर २३ मा अन्त्य हुने गर्दथ्यो ।

तर पछिल्लो १० वर्षको मनसुनी गतिविधि अध्ययन गर्दा पहिले भन्दा ३ दिन ढिला अर्थात् जुन १३ मा नेपाल प्रवेश गरी एक हप्ता जति ढिला अर्थात् अक्टुवर २ मा बाहिरिने गरेको पाइएकोले यस वर्षदेखि यस अवधिलाई औपचारिक रूपमा मान्यता दिन लागिएको मौसमविद् मञ्जु वासीले बताए ।

Translate »