पीडकलाई १० वर्ष कैद, पीडितलाई ५ हजार जरिवाना

बलात्कार मुद्दा

 दैलेख : जिल्ला अदालत दैलेखले बलात्कार मुद्दामा दुवै पक्षलाई सजाय सुनाएको छ । अदालतले बिहीबार पीडकलाई १० वर्ष कैद र पीडकलाई उन्मुक्ति दिन वयान फेर्ने पिडित पक्षलाई समेत पाँच हजार जरिवाना हुने फैसला सुनाएको छ । पीडितले प्रहरीमा दिएको जाहेरी विपरित वयान फेरेपछि अदालतले पिडित पक्षलार्ई समेत सजायको फैसला गरेको हो । बलात्कारमा दोषी ठहरिएका दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र बयान फेर्ने बलात्कृत बालिकाकी आमालाइ जरिवाना गरेको हो ।

अदालतले १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको कसूरमा पीडक भण्डारीलाई १० वर्ष कैद सजाय सुनाएको छ । आरोपित भण्डारी जोगाउन बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई पाँच हजार रुपैयाँ जरिवाना भएको अदालतका सुचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।
उजुरी गर्दा ५ हप्ताको गर्भ रहेको बताएको र कानून अनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छदाँछँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए ।

२०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले बालिकालाई बलात्कार गरेका थिए । घटना लगत्तै पीडित पक्षले २०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले भण्डारीलाई सोही दिन पक्राउ गरेको थियो ।  अदालतले थुनछेक वहसपछि भण्डारीलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाएको थियो ।

राज्यको साधन श्रोत र जनशक्तिको खर्च गराएर कानूनी प्रक्रियामा रहेका मुद्दाहरुमा प्रलोभन, डर, धाक र दवावमा मुद्दा होस्टाइल गराउने खराब प्रचलन बसेको डिएसपी अनुपम श्रेष्ठले बताए । यस्तो अवस्थामा मुद्दाका दुवै पक्षलाई सजाय हुनुले यस्ता बिकृति रोकथाममा सहयोग पुग्ने डीएसपी श्रेष्ठ बताउँछन् । (अन्नपूर्ण पोस्ट्)

Translate »