६४ जिल्लामा कांग्रेसका स्थानीय तहको अधिवेशन शनिबार

काठमाडौँ — कांग्रेसले वडा तहको अधिवेशन भइसकेका ६४ जिल्लामा शनिबारै स्थानीय तहस्तरको अधिवेशन गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले ती जिल्लाका स्थानीय तहहरुमा शनिबारदेखि अधिवेशन गर्ने तयारी गरेको हो ।‘

६४ वटै जिल्लामा शनिबारदेखि गाउँपालिका र नगरपालिकाको अधिवेशन हुन्छ । सबैमा शनिबारै भइसक्छ भन्ने होइन, तर अस्ति १८ भदौदेखि अहिलेसम्म वडा अधिवेशन भइसकेका ठाउँमा पलिका अधिवेशन हुन्छ, हिमाली जिल्लामा ११ गतेसम्म पालिका अधिवेशन भइसक्नुपर्छ । अन्यमा दशैँअघिसम्म गरिसक्नुपर्ने सहमति भएको छ,’ निर्वाचन समितिका संयोजक महादेव यादवले भने । उनका अनुसार हिमाली जिल्लामा भने अहिलेको कार्यतालिकाअनुसार नै जिल्ला तहसम्मको अधिवेशन हुने भएकाले ११ असोजभित्र पालिका तहको अधिवेशन सक्नुपर्छ ।

ती जिल्लामा १२ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । बिहीबारदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा निरन्तर बस्दै आएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकमा विविध पक्षले भिन्न भिन्न विचार र प्रस्तावहरु राखेपनि हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने, बाहेकका जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार पहाडी र तराईका जिल्लामा दशैँतिहारको बीचमा जिल्ला तहसम्मको अधिवेशन हुनेछ ।

‘हामी छलफल गर्दैछौँ, त्यसबारे निर्वाचन समितिले कार्यतालिका बनाएर सार्वजनिक गर्छ, त्यहीअनुसार महाधिवेशन हुन्छ,’ उनले भने । हिमाली जिल्लामा १२ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । (ईकान्तिपुर)

Translate »