सावधान ! अरू कसैले बैंकबाट पैसा ननिकालोस्

बैंक खातामा सर्वसाधारणको पहुँच र अनलाइन बैंकिङ वृद्धिसँगै आर्थिक अपराधका घटना पनि सतहमा देखिन थालेका छन्

जनकराज सापकोटा / काठमाडौँ — देवकुमारी कामीलाई १० कक्षामा पढ्ने १४ वर्षीय छोराले सोध्यो, ‘मम्मी तपाईंको मोबाइलमा म्यासेज आयो ?’ उनले म्यासेज बक्स चेक गरिन् । भर्खरै आएको म्यासेजमा एउटा कोड नम्बर थियो । छोराले मागेपछि उनले त्यो नम्बर दिइन् । त्यसपछि जे भयो त्यो उनले सोचेसम्झेको कुरा थिएन । एउटै म्यासेजले देवकुमारीलाई रामेछापको सदरमुकामदेखि झन्डै ३३ किमिको दूरीमा रहेको साँघुटारस्थित गाउँबाट हतार–हतार काठमाडौं आउनुपर्ने बनाइदियो ।गत भदौ १५ बिहानको कुरा हो । उनको बैंक खातामा विजयकुमार नाम गरेको भारतीयले २ हजार ९ सय रुपैयाँ डिपोजिट गरिदियो । चिन्दै नचिनेको मानिसले उनको खातामा किन पैसा डिपोजिट गरिदियो ? छोराले भनेपछि उनले थाहा पाइन्, विजयकुमार भन्ने भारतीयले उनको छोरालाई फेसबुक म्यासेन्जरमा सम्पर्क गरी चिट्ठा परेको बताएको रहेछ । छोरालाई भनेको रहेछ, ‘मोबाइलमा विभिन्न गेम खेल्ने नेपालका ५ जनालाई चिट्ठा परेको छ । त्यसमध्ये तिमी एक जना हौं । अब हामी तिम्रो बैंक खातामा २५ लाख हालिदिन्छौं ।’

विजयकुमारले त्यसो भनेपछि छोराले आमाको बैंक खाता नम्बर त्यो मान्छेलाई पठाइदिए । नम्बर पठाएको केहीबेरमै देवकुमारीको मोबाइलमा म्यासेज आयो– ‘तपाईंको खाता नम्बरमा २ हजार ९ सय रुपैयाँ जम्मा गरिएको छ ।’ पैसा डिपोजिट गरेपछि विजयकुमार बताउनेले छोरालाई म्यासेन्जरमा फेरि सम्पर्क गरेर भने, ‘सबै पैसा पठाउन खोजेको मिलेन । किनकि तिम्रो मम्मीको बैंक खातामा ब्यालेन्स नै रहेनछ ।’ विजयकुमारले यसो भनेपछि उसले मोबाइल नम्बरसहितको अन्य विवरण माग्यो र एकैछिनमा भन्यो, ‘तिम्रो मम्मीको मोबाइलमा एउटा पासवर्ड आएको छ । त्यो पठाऊ त ।’

कोड नम्बर अर्थात् मोबाइल बैंकिङको पासवर्ड परिवर्तन गर्ने बेलामा खातावालाको मोबाइलमा एक पटकका लागि पठाइने गोप्य कोड, जसलाई बोलीचालीको भाषामा ‘ओटीपी’ पनि भनिन्छ । छोराले मम्मीको मोबाइलमा आएको ओटीपी तत्काल विजयलाई पठाइदिए । यही कोड पाएपछि देवकुमारीको बैंक खातामा विजयले कब्जा जमाए । तर आफ्नो खाता अरूले नै कब्जामा लिएको देवकुमारीलाई पत्तो थिएन । कोड नम्बर दिएको भोलिपल्ट उनले बैंकमा गएर एक लाख रुपैयाँ डिपोजिट गरिन् ।

आगामी बिहीबार वैदेशिक रोजगारीका लागि खाडी देश जान लागेका श्रीमान्लाई खर्च चाहिने भनेर उनले अनेकतिरबाट मागेर त्यतिका पैसा जम्मा गरेकी थिइन् । तर पैसा डिपोजिट गरेको केहीबेरमा उनको मोबाइलमा पालैपालो तीन पटक म्यासेज आयो । उक्त पहिलो म्यासेजमा उनको खाताबाट ८० हजार रुपैयाँ निकालिएको सूचना थियो भने क्रमशः दोस्रो र तेस्रो म्यासेजमा २० हजार र ६ हजार रुपैयाँ निकालिएको सूचना थियो ।

देवकुमारीको सात्तो गयो । उनी हतारहतार आफ्नो खाता भएको घरनजिकैको बैंकमा गइन् । बैंकका कर्मचारीले जे भने त्यसले उनको होस उडाइदियो । त्यहींका कर्मचारीले भनेपछि उनी ठगीबारे नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा उजुरी गर्न गत बिहीबार बेलुका काठमाडौं आइपुगिन् । शुक्रबार उनी उजुरी गर्न त गइन् तर कर्मचारीले बैंकको पनि पत्र चाहिने बताए । उनी पत्र लिन जाँदा बैंक बन्द भइसकेको थियो । उनले भनिन्, ‘बल्लतल्ल आइतबार उजुरी दर्ता गरें । ख्यालख्यालैमा पैसा पनि गुम्यो, दुःख पनि पाइयो ।’

बैंक खातामा सर्वसाधारणको पहुँच र अनलाइन बैंकिङको संख्यात्मक वृद्धि भएसँगै यससँग सम्बन्धित आर्थिक अपराधका घटना पनि सतहमा देखिन थालेका छन् । जसको बलियो उदाहरण सामान्य साक्षर मात्रै रहेकी रामेछापकी देवकुमारी हुन् । महानगरीय अपराध महाशाखामा आर्थिक वर्ष २०७७/७८ मा मात्रै अनलाइनबाट भएका आर्थिक ठगीका ४ सय ७० वटा उजुरी दर्ता भए । जसमा पीडितहरूले ७ करोड ४१ लाख बिगो मागदाबी गरेका छन् ।

प्रहरीले ती घटनामध्ये ३ करोड ७ लाख बिगो दाबीसहितका विभिन्न मुद्दाका १९ जनालाई पक्राउ गर्न सफल भयो । यो तथ्यांकले अनलाइन ठगीमा विभिन्न मानिसले दैनिक २ लाखभन्दा धेरै गुमाउने गरेको देखाउँछ । जबकि यो तथ्यांक प्रहरीको महानगरीय अपराध महाशाखाको मात्र हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनमार्फत हुने ठगीमा सबैजसो घटना अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोमा दर्ता हुने गरेकाले महाशाखाको तथ्यांकले अनलाइन ठगीको एउटा तस्बिर भने दिन सक्ने बताए ।

गत साउनमा मात्रै अनलाइनबाट भएका आर्थिक ठगीका ७७ मुद्दा महाशाखामा दर्ता भएको देखिन्छ । जसमा २५ महिला र ५२ पुरुष ठगिएका थिए । यी ७७ मुद्दामा १ करोड २५ लाख २९ हजार २ सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ । महाशाखाले ठगिनेहरूको उमेरगत वर्गीकरण पनि गरेको छ । जसअनुसार ७७ मध्ये १८ जना पीडितहरू २० देखि ३५ वर्षका छन् । अनलाइन ठगीमा पर्नेहरूमा ६ जना त २० वर्षमुनिका किशोरकिशोरी पनि छन् । यो विवरणले डिजिटल पहुँचमा रहेका किशोरकिशोरीदेखि युवायुवतीसम्म ठगको इन्टरनेट पासोमा परिरहेका छन् ।

महाशाखाका अनुसार साउनमा मात्रै अनलाइन चिट्ठा परेको भनेर ठगिनेमा १४ जना छन् । उनीहरूले मनग्गे कमाउने लोभमा २३ लाख १८ हजार ४ सय ८७ गुमाएको देखिन्छ । त्यस्तै साउनमा अनलाइनबाट सम्पर्कमा आएका अपरिचितहरूबाट पार्सल उपहार पाइने लोभमा ८ जनाले १४ लाख ७४ हजार गुमाए । अनि सस्तोमा मोबाइल किन्ने लोभमा ठगिएका ११ जनाले ६ लाख ६९ हजार गुमाए भने फेसबुक ह्याक गरेर थापिएको ठगी पासोमा परेर १० जनाले ४५ लाख ९० हजार गुमाए । त्यस्तै देवकुमारीको छोरासँग जस्तै बैंक खाताको ओटीपी कोड मागी भएको ठगीमा ९ जनाले ३ लाख ५१ हजार गुमाए । अन्य विभिन्न खालको अनलाइन ठगीमा परेका ८ जनाले भने १२ लाखभन्दा धेरै गुमाए ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला प्रत्येक दिन अनलाइनमार्फत हुने आर्थिक ठगीका अनेक घटनाका पीडितहरूका कुरा सुन्छन् । उनको अनुभवमा यस्ता धेरै घटनामा पीडकहरू देशबाहिर रहेका देखिन्छन् । उनले भने, ‘कोही भारतमा बसेर त कसैले अफ्रिकामा बसेरसमेत नेपालीलाई ठगिरहेका छन् ।’ केहीअघि महाशाखामा एक जनाले अनलाइनमार्फत सस्तोमा मोबाइल किन्न खोज्दा ठगिएका एक पीडित महाशाखाको सम्पर्कमा आए ।

ठगीमा प्रयोग भएको फेसबुक अकाउन्ट कहाँबाट कसले चलाएको रहेछ भनेर प्रहरीले खोज्न सिंगापुरस्थित फेसबुक कार्यालयमा पत्राचार गर्‍यो । त्यहाँबाट उक्त फेसबुक अकाउन्ट नाइजेरियाबाट सञ्चालनमा आएको भन्ने त खुल्यो तर फेसबुक कार्यालयले विस्तृत सूचना दिएन । एसपी कोइरालाले भने, ‘अनलाइन सम्पर्कबाट लोभ देखाएर ठग्नेहरूबाट सचेत नहुने हो भने ठगहरू सक्रिय भइराख्छन् ।’

महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले प्रविधिमार्फत हुने यस्ता ठगी चिन्ताको विषय भएको बताए । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगी औसत मासिक ३९ थियो भने पछिल्लो २ महिनामा मात्रै अनलाइन ठगी औसत मासिक ५८ पुगेको छ । एसएसपी खापुङले भने, ‘डिजिटल अनुसन्धानलाई बलियो नबनाउने र यस्तो ठगीबारे सचेत रहन व्यापक जनचेतना जगाउने काम गर्न सकिएन भने स्थिति भयावह हुने देखिन्छ ।’ (ईकान्तिपुर)

Translate »