हावाहुरीले मकै सखाप पारेपछि स्थानीय चिन्तामा

बद्री पन्त/ जाजरकोट । लगातारको वर्षा तथा हावाहुरीको कारण जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिका क्षेत्रमा लगाएको मकै बाली सखाप भएको छ ।

पाक्न थालेको र घोगा लागेको मकै बालीमा पानीसँगै आएको हावाहुरीका कारण क्षती पुगेको छ । हावाहुरीकै कारण झन्डै एक हजार घरपरिवारको सयौँ हेक्टर जमिनमा लगाएको मकै बाली नष्ट भएको छ ।

तीन दिन अघि चलेको हावाहुरीले लगाएको मकै बालीमा क्षति गरेको बारेकोट ४ जिरीका भीमबहादुर सिंहले बताए । ‘सबै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले सताएको छ’, सिंहले भने । नलगाड ४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भाच्चीउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोला, ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिना, ५ को लविसा, ऐराडी, मुली, पारीगाउँ, पोख्रा, खनटाकुरा लगाएत वडामा लगाएको मकै बाली हावाहुरीले ढालेर सखाप परेको स्थानीयले बताएका छन् । ‘भखरै पोली खानेसम्म नभएको मकै हावाहुरीले ढालेर सोतर पारेको छ’, सिंहले भने । जाजरकोट जिल्लाको मुख्य अन्नबालीको रुपमा रहेको मकै हावाहुरीले सखाप पारेपछि स्थानीयहरू चिन्तित छन् ।

मकै हावाहुरीले ढालेपछि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको नलगाड ४ का गोविन्द वलीले बताए । राहातको लागि पहल गर्न स्थानीयले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । बर्षभरी खाना पुग्ने मकै सबै नष्ट भएपछि गाउँमा भोकमरी बढ्ने चिन्ता छ ।

Translate »