अर्को आदेश नहुन्जेलसम्मका लागि खाद्यको बासमति चामल विक्रीमा रोक

काठमाडौंबाट सुर्खेत ल्याईएको ‘चामल काण्ड’

स्काई न्यूज असोज ७, सुर्खेत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाटसुर्खेत ल्याएको बास्मती चामलको विक्री वितरणमा रोक लगाईएको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको गोदाममा रहेको कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाईएको भन्ने समाचार सार्वजनिक भएपछि बुधबार राष्ट्रिय उपभोक्ता मञ्चको पहलमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकारसँगै उपभोक्ता अधिकारकर्मीको रोहवरमा १ हजार ९ सय ७५ क्विन्टल बासमति चामलको विक्री वितरणमा रोक लगाईएको हो । काठमाडौंबाट आएको कुल १ हजार ९ सय ९० क्विन्टल चामल मध्ये १५ क्विन्टल चामल विक्री भईसकेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । उनले खाद्य व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा सुर्खेतमा कीरा परेर कुहिएको अस्वास्थ्यकर चामल विक्री वितरण भईरहेको भन्ने खबर पाउनसाथ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी र प्रहरीको सहयोगमा अनुगमन गरि मुचुल्का उठाएर अर्को आदेश नहुन्जेलसम्मका लागि विक्री वितरणमा रोक लगाईएको जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा कीरा परेर कुहिएको अस्वास्थ्यकर भनिएको चामल सरसरी हेर्दा त्यस्तो नपाईएपनि विभागको आदेश नै अन्तिम निर्णय हुनेछ । ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतकातर्फ बाट विभागलाई काठमाडौंको थापाथलीस्थित कम्पनीको गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल सुर्खेत पठाईएको बारेमा थप अनुसन्धान र छानविन गरि दिन आग्रह गरेका छौं,’ उनले भने, ‘यस अघि नै विभागले थापाथलीस्थित कम्पनीको गोदाममा रहेको बास्मती चामल विक्री वितरणमा रोक लगाएको भन्ने बुझिएकाले त्यो बारेमा थप स्पष्ट नहुन्जेलसम्म सुर्खेत ल्याईएको चामल विक्री वितरण हुँदैन ।’ उनले ‘रि पोलिसिङ’ गरी काठमाडौंबाट विक्रीका लागि सुर्खेत पठाईएको चामल यकिन हुने वित्तिकै ल्यावमा चेकजाँच गरि खान योग्य वा अयोग्य बारे थाहा हुने जनाए ।

सत्यतथ्य छानविन गर्न माग
यता उपभोक्ता अधिकारकर्मीहरुले भने खान अयोग्य चामलमा खान योग्य चामलको मात्रा बढाएर पाठएको आरोप लगाएका छन् । उपभोक्ताकर्मी विन्दुलाल रेग्मीले राजधानी दैनिकमा प्रकासित समाचार अनुसार ७५ किलो नयाँ बास्मती र २५ किलो कुहिएको बास्मती मिसाएर सय किलो बनाएर बिक्रीका लागि सुर्खेत पठाइएको बताए । उनले मानव स्वास्थ्यसँगै जोडिएको खाद्यन्न जस्तो वस्तुमा सरकारी स्वामित्वको कम्पनीका कर्मचारीको मिलेमितोमा बेईमानी भएको हो वा होईन भन्ने बारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरे । उनका अनुसार सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको बासमति चामललाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो ।

खाद्य कम्पनीको बदमासी
४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ बराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल कुहाउने कर्मचारीलाई कारबाही गर्नुको साटो सो कम्पनीले चामल नै कर्णाली प्रदेशका लागि पठाएको पाईएको छ । खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदाम कर्मचारीको चरम लापर्बाहीले गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल कुहिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीका गोदाममा रहेको बास्मती चामलमा कीरा परेर धुलोधुलो भइसकेको हुँदा खान योग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो । चामल नष्ट गर्दा कुहाउने कर्मचारीले ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएकाले कम्पनीका कर्मचारी मिलेर कुहिएको चामलमा राम्रो बास्मती मिसाएर मिक्स गरेर दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्न कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको स्रोतले जानकारी दिएको छ । खाद्य प्रविधि विभागले गोदाममा कुहिएको चामल खानयोग्य नभएको भन्दै नष्ट गर्नुपर्ने भनेपछि कम्पनीले ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको स्रोत बताउँछन् ।

कम्पनीलाई बद्नाम नगर्न सुझाव
खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा १ हजार ९ सय ९० क्विन्टल बास्मती चामल आएको बताए । उनले खाद्य कम्पनीले सुर्खेतमा बास्मती चामल पठाएमा सरसरी हेर्दा कुनै कैफियत नदेखिएपछि प्रादेशिक कार्यालयका कर्मचारीहरुले समेत दैनिक उपभोग गरिरहेको जानकारी दिए । उनका अनुसार सञ्चारमाध्यममा आएको हल्ला जस्तै त्यो कुहिएको चामल हो या होइन भन्ने कुरा आफुले यकिनसाथ भन्न नसकेपनि छिटो ल्याव परीक्षण गरिनु पर्छ । ‘खाद्य कम्पनीले यसअघि कर्णालीका दशै जिल्लाका लागि काठमाडौं, लहान, विरगञ्ज, धनगढी, नेपालगञ्ज र बर्दियालगायतका ठाउँबाट चामल आउने गरेको छ,’ उनले भने, ‘तर खाद्य कम्पनीको चेकजाँच गरेर ल्याईएको राम्रो देखिने चामललाई खराब छ भन्नु माफियाको गन्ध लुकेको देखिन्छ ।’ उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रतिष्ठालाई बद्नाम नगरि छिट्टै सत्यतथ्य चेकजाँच गर्न सुझाव दिए ।

Translate »