पाकिस्तान नेपालसँग सधैं मिलेर काम गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री खान

असोज ६, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग बुधबार इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको उल्लेख गरे ।
राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने बताएका हुन् ।

उक्त भेटमा राजदूत अधिकारीले नेपालको अहिलेको अवस्थाको बारेमा जानकारी दिँदै कोभिड–१९ का दौरान पाकिस्तानी सरकारले नेपाल सरकारलाई गरेको सहयोगको लागि धन्यवाद दिए ।

राजदूत अधिकारीमार्फत खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना दिएका थिए । नेपाल र पाकिस्तान दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक हुन् । ई–कान्तिपुर

Translate »