जुम्लामा ७६ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण

पूर्वाधार विकासको वित्तीय प्रगति ८८.५ प्रतिशत र भौतिक प्रगति ९४ प्रतिशत

सागर परियार/ जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ ।

गत आर्थिक २०७७/०७८ मा कोरोना कहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियताले पूर्वाधार विकासमा उल्लेख्य रुपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो ।

जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ ।

भौतिक प्रगतितर्फ गत आवमा मात्रै पूर्वाधार कार्यालयले ७६ किमी नयाँ ट्र्याक सडक निर्माण गरेको छ । अन्तर जिल्लादेखि विभिन्न गाउँ जोड्ने ७६ किमी नयाँ ट्र्याक सडक निर्माण भएको छ । जसमा कार्यालयको नियमित कार्यक्रम अन्तर्गत ९ किमी र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ६७ किमी गरी जम्मा ७६ किमी नयाँ ट्र्याक सडक निर्माण भएको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रूपक रावलले बताए ।
उहाँका अनुसार गत आवमा सडक स्तरबृद्धि तथा चौडा ३७ किमी, ड्रेन निर्माण १९ किमी, ग्राभेल ९ किमी भएको छ ।

त्यस्तै, त्रिवेणीमा कर्णाली प्रदेशकै पहिलो उच्च प्रविधिको पक्की पुल, चिउडी र मसान डाँडामा झोलुङ्गे पुल, तथा २ सय ५० जनता आवासका घर निर्माण भएको प्रमुख रावलको भनाई छ ।

पूर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी टेक बहादुर हितानका अनुसार नयाँ ट्र्याक सडक निर्माण अन्तर्गत ताचोपानीको टोल्पा हुँदै इमिल्छासम्म ३५ सय मिटर, तिलाको रासाहुँदै मालापानी ३५ सय मिटर, सिञ्जाको गेरा हुँदै भाडगाउँ २ किमी र कनकासुन्दीको जलजला हुँदै छाला चौरसम्म साढे ४ किमी लगायत ७६ किमी नयाँ सडक निर्माण भएको छ ।

जुम्ला डोल्पा जोड्ने सडकको १० किमी ग्राभेल, जुम्ला उर्थु पटमाराहुँदै मुगु जोड्ने सडकका प्याकेज १ मा नाला निर्माण, तथा प्याकेज २ मा ग्यामिन पर्खाल र मोड निर्माण, जिया चौथा सडक निर्माण, जनता माध्यम विद्यालयमा प्यारा फिट निर्माण लगायतका विभिन्न पूर्वाधार विकासका काम भएको प्रमुख रावलले जानकारी दिए।
सडक विकासले दुरदराजका बस्तीहरू, तथा जिल्लाहरू सदरमुकामसँग जोडिएका छन् । रारा जाने छोटा पर्यटकीय मार्ग जुम्ला–उर्थु–पटमारा सडक निर्माणले पर्यटकलाई राहत पुर्‍याएको छ ।

५ करोड मात्रै खर्च हुन सकेनपूर्वाधार कार्यालय जुम्लाको वित्तीय प्रगति ८८ दशमलव ५ प्रतिशत भएको छ ।
गत आवमा विनियोजित कुल ५० करोड बजेट मध्ये आवको अन्तिमसम्म ४५ करोड अर्थात् ८८ प्रतिशत बजेट खर्च भएको प्रमुख रावलले बताए ।
उनले भने “कोभिडलगायत अन्य कारणले ५ करोड मात्रै खर्च हुन सकेन । तर निर्माण व्यवसायीलाई ताकेता दिएर, नियमित आफै फिल्डमा खटिएका कारण बजेट खर्चमा उल्लेखनीय वृद्धि भएको हो ।”

कार्यालयको नियमित बजेट ३५ करोड, जनता आवास कार्यक्रमको ५ करोड, पूर्वाधार विशेष कार्यक्रममा ५ करोड र सांसद विकास कोषमा ५ करोड गरी ५० करोड विनियोजन भएको थियो ।

जुम्लाको विकासे कार्यालयमा ऊर्जाशील जनशक्ति भएकोले पछिल्लो समय जुम्लाको पूर्वाधार विकासले गति लिएको नागरिक अगुवा राजबहादुर महतको भनाई छ ।

उनका अनुसार जुम्लामा पूर्वाधार विकास कार्यालय, सडक डिभिजन, धौलिघाट खानेपानी लगायतका कार्यालयले उल्लेखनीय काम गरेका छन् ।

बजेट अभाव र टुक्रे योजना विकासका चुनौती कर्णालीको पूर्वाधार विकास अपेक्षित रुपमा नहुनुका विभिन्न कारण मध्ये एक टुक्रे योजनामा बजेट छुट्टाउनु पनि एक कारण हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बजेट अभाव, टुक्रे योजना निर्माण, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण जुम्लाको पूर्वाधार विकास लक्ष्य अनुसार नभएको बताए । उनले भने, “१०/२० लाखका योजना पनि प्रदेशले पठाउँछ । कार्यान्वयनमा निकै चुनौती छन् ।  चिसोका कारण हिउँदको ४ महिना काम गर्ने सकिदैन् । अघिपछि निर्माण व्यवसायीको ढिलासुस्ती । कार्यालयको ताकेताले मात्रै काम हुन्छ ।”

बहुवर्षीय योजना निर्माण गर्ने कार्यालयमा टुक्रे योजना पठाउने प्रवृत्तिले पूर्वाधार विकास लक्ष्य अनुसार भएको छैन । साथै ल्याब नहुँदा गुणस्तर मापन गर्न पनि समस्या छ । नियमित साइट हेर्न जानका लागि सवारी साधनको अभाव, सडक निर्माणमा घर जग्गा विवाद जस्ता थुप्रै चुनौतीको सामना गर्दै जुम्लाको पूर्वाधार विकास अघि बढेको छ ।

यद्धपी, अपर्याप्त बजेटको समस्या त छदैछ । प्रमुख रावलले भने, “नत माग स्टिेमट भए अनुसार बजेट आउँछ । तर माग गरेको योजना छनौट हुन्छन् । बहुवर्षीय योजना झलझला– छालाचौर सडक र भैसेडी लुममा पक्की पुल बारम्बार माग पेस गरेको तर स्वीकृत भएका छैनन् ।”

प्रदेशले माग अनुसार बजेट छुट्टाएकोले नागरिक अगुवाहरूले साथ दिएमा, स्थानीय नागरिकले विकास हाम्रै लागी हो भन्ने सोचेर सहयोग गरेमा जुम्लासँगै कर्णालीको पूर्वाधार विकासले काँचुली फेर्न धेरै समय नलाग्ने समेत प्रमुख रावलको भनाई छ । (रेडियो नेपाल)

Translate »