कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

कौशिला कुँवर/ काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ ।

आफ्नो गोदाममा रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रस्ट हुन्छ । खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो ।

खाद्य कम्पनीले सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको त्यही चामल हो, जसलाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो । सो चामलको १० वटा नमुना परीक्षणपछि विभाग सो निष्कर्षमा पुगेको थियो ।

सरकारी खाद्य कम्पनीको बदमासी

४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल कुहाउने कर्मचारीलाई कारबाही गर्नुको साटो सो कम्पनीले चामल नै कर्णाली प्रदेशका लागि पठाएको हो । खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदाम कर्मचारीको चरम लापर्बाहीले गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल कुहिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीका गोदाममा रहेको बास्मती चामलमा कीरा परेर धुलोधुलो भइसकेको हुँदा खान योग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो । चामल नष्ट गर्दा कुहाउने कर्मचारीले ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएकाले कम्पनीका कर्मचारी मिलेर कुहिएको चामलमा राम्रो बास्मती मिसाएर मिक्स गरेर दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्न कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको स्रोतले जानकारी दिएको छ ।

खाद्य प्रविधि विभागले गोदाममा कुहिएको चामल खानयोग्य नभएको भन्दै नष्ट गर्नुपर्ने भनेपछि कम्पनीले ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको हो । स्रोतको अनुसार ७५ किलो नयाँ बास्मती र २५ किलो कुहिएको बास्मती मिसाएर सय किलो बनाएर बिक्रीका लागि सुर्खेत पठाइएको हो ।

खाद्य कम्पनीको बिक्री वितरण शाखा प्रमुख भीम थापा, प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दलगायतका विभागीय प्रमुुखको मिलेमतोमा यो काम गरिएको हो ।

खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल आएको बताए । उनले खाद्य कम्पनीले सुर्खेतमा बास्मती चामल पठाएको यो नै पहिलो भएको बताए ।

खाद्य कम्पनीले यसअघि कर्णालीका नौ जिल्लाका लागि धनगढी, लहानलगायतका ठाउँबाट मोटा चामल पठाउँदै आएको थियो ।

लेखा शाखा प्रमुख पौडेलले भने, ‘तर खाद्य कम्पनीको इतिहासमा पहिलोपटक कर्णालीका नौ जिल्लाका लागि करिब २ हजार २ सय क्विन्टल बास्मती चामल आएको छ । सो चामल २० किलोको बोरामा आएको छ ।’

खाद्य कम्पनीको सुर्खेत कार्यालयबाट हालसम्म प्रतिकिलो १ सय १० रुपैयाँका दरले झन्डै १५ क्विन्टल बिक्री पनि गरिसकेको छ । उसले कर्णालीका दुर्गम नौ जिल्लामा सो चामल पठाउन ढुवानीका लागि टेन्डर गर्ने तयारी पनि गरिरहेको छ ।

स्रोतका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द र बिक्री शाखा प्रमुख भीम थापालगायत विभागीय प्रमुखको सहमतिमा गोदाममा कुहिएको बास्मती चामल बिक्रीका लागि सुर्खेत पठाउने निर्णय भएको हो । तर, प्रमुख कार्यकारी अधिकृत चन्दले आफूले सो निर्णय नगरेको दाबी गरेका छन् । उनले सो काम आफ्नो नभई कम्पनीका खाद्य गुणस्तर प्राविधिको भएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंको रोहवरमा खाद्य कम्पनीको बास्मती चामल सिल गरिएको बताए । उनले सो चामल खाद्य कम्पनी एक्लैले बिक्री गर्न नसक्ने र विभागको निर्देशनलाई अटेर गर्दै कुहिएको चामल बिक्री गरेको पाइए कानुनअनुसार कारबाही हुने बताए ।

उनले सो चामलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले खाद्य विभागले चासो नदिएको बताए ।

३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि छानबिन गरिरहेको थियो । अख्तियारले चामलको छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो ।

छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरी सकेको थियो ।

कम्पनीका अनुसार सो चामल आर्थिक वर्ष २०७२/७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टलमध्येकै हो ।

त्यसबेला धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ प्रतिकिलो पर्न जान्छ । कम्पनीले निजी व्यापारीजस्तै उपभोक्ताबाट बढी नाफा असुल्न चामलको प्रतिकिलो १ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

कम्पनीले २०७२÷७३ मा बिक्री गरेको प्रतिकिलो १ सय ३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८ सय ६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४ दशमलव शून्य ५ क्विन्टल बास्मती चामल कुहिएको पाइएको थियो । कम्पनीले सो बास्मती चामल २०७६ मा प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्ने गरेको थियो । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदामै कुहिएको अवस्थामा छ । (राजधानी दैनिक)

Translate »