प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

असोज ४, काठमाडौं। प्रतिनिधि सभाबाट सोमवार विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले सोमवार पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको घोषणा गरेका छन् ।बजेट पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुभएपछि सरकारले खर्च गर्न पाउने छ ।बजेट पारित नहुँदा गत बुधवारदेखि सरकारलाई खर्च गर्न बन्देज लागेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । सोमवारको विनियोजन विधेयकमाथिको छलफलको विभिन्न प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवालको मात्र सहभागिता थियो।

यसैबीच प्रतिनिधि सभाको सोमवारको बैठकले दुई ओटा विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुत तुल्याउन कृषि, उद्योग प्रवर्द्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए ।

Translate »