दसैंको लागि नयाँ नोट असोज ४ गते बाट पाईने

असोज २, सुर्खेत ।  नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि आम सर्वसाधारणका लागि नयाँ तथा सुकिलो नोट सटही गर्ने भएको छ । नयाँ नोट सटही सुविधा सुर्खेतसहित देशभरका वाणिज्य बैंकका शाखा कार्यालयबाट उपलब्ध गराइनेछ ।

केन्द्रीय बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिनेछ । सर्वसाधारणलाई बाँड्न बैंकहरूलाई बुधबारदेखि नै नयाँ नोट उपलब्ध गराइएको छ ।

 

सर्वसाधारणले रु ५, १०, २०, ५०, १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही गर्न पाउनेछन् । गत वर्ष कोभिड महामारीकोे चरम अवस्था रहेकाले सटही गरिएको थिएन । यसपटक कोरोना संक्रमणको दर कम भएकाले दसैंका लागि नोट सटही सुविधा दिएको विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

राष्ट्र बैंकको ढुकुटीबाट दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Translate »