बिजुली नहुँदा कक्षा १२ को परीक्षा आधा घण्टा ढिलो !

सिमकोट– भदौ ३० गतेबाट सञ्चालन भएको कक्षा १२ वार्षीक परीक्षा आधा घण्टा ढिलो गरी सञ्चालन भएको छ। विद्यालयमा विद्युतको व्यवस्था नहुँदा परीक्षा बोर्डबाट आएको प्रश्नपत्र मेलबाट डाउनलोड गरेर प्रिन्ट गर्न समस्या भएको कारण ढिलो भएको हो।

मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमर बहादुर शाहीले राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र ढिलो गर‍ी मेलमा आउनु र विद्यालयमा पावरको समस्याले बजारमा मेल चेक र प्रिन्ट गर्नुपर्ने भएपछि परीक्षा निर्धारित समयभन्दा ढिलो भएको बताए।

उनले परीक्षाको पहिलो र दोस्रो दिनको परीक्षा आधा घण्टा ढिलो सञ्चालन भएको जानकारी दिए। परीक्षा ११ बजेबाट सञ्चालन गर्ने कार्यतालिका भएपनि हुम्लामा साढे एघार बजेबाट परीक्षा सुरु भएको र दुई बजे सकिने परीक्षा आधा घण्टा ढिलो सकिने छ।

हिल्दुम विद्युत वितरण केन्द्रले मर्मत गर्ने भन्दै विद्युत आपूर्ति बन्द गरेको र विद्यालयमा सोलारको व्यवस्था नहुँदा परीक्षा सञ्चालनमा समस्या देखिएको हो। सो विद्यालयमा तीन वटा विद्यालयका परिक्षार्थीहरुले परीक्षा दिँदै आएका छन्। आजको परीक्षामा नियमित र आंशिक गरी ५७ जना परिक्षार्थीहरुको सहभागिता रहेको थियो।

सदरमुकाम सिमकोटमै यस्तो समस्या भइरहेका बेला जिल्लाका अन्य गाउँपालिकाका परीक्षा केन्द्रका अवस्थाका बारेमा सञ्चार सम्पर्क हुन नसकेको कारण कुनै जानकारी पाउन सकिएन। (देश सञ्चार)

Translate »