कर्णाली प्रदेशमा खाद्यबाली उत्पादन बढ्दा तरकारी भने घट्यो

भदौ ३०, सुर्खेत । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २ दशमलव ६९ प्रतिशत र ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

यहाँ धानबाली ३ दशमलव ८१, मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २ दशमलव २६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जानकारी दिएको छ ।

पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन शून्य दशमलव ६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६/७७ को चैतदेखि २०७८/७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको बताए ।

राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ । यहाँ पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि होटलका बेड संख्या भने १२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्टे«शन र राजस्वमा उल्लेख्य वृद्धि भएको देखिएको छ । रजिष्ट्रेशन सङ्ख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको छ ।

यातायातका साधनको संख्यामा २ दशमलव ८३ प्रतिशतले कमी र सरकारी सामुदायिक चिकित्सकको संख्यामा २९ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ । सरकारी विद्यालयको संख्या शून्य दशमलव ९४ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५ दशमलव ७० र कृषि प्रवाहतर्फ ७ दशमलव ७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको सङ्ख्या १७ हजार ६३ रहेको छ । प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैंक १९५ गरी ४०६ शाखा छन् ।

तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन् । प्रदेशमा राजमार्ग र सहायकमार्ग गरी दुई हजार ७२५ किमी सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । रासस

Translate »