अहेबको भरमा सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र

दीपक शर्मा / सल्यान । सल्यानका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर विहीन भएका छन् । जिल्लामा रहेका दुई वटै प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन भएका हुन ।

छत्रेश्वरी गाउँपालिका –५ मा र बागचौर नगरपालिका –२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएका हुन । प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डा. विहीन भएका हुन । डाक्टर नहुँदा दुवै केन्द्र अहेवको भरमा चल्दै आएका छन् ।

छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका –१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो । तर तीन वर्ष देखि डाक्टर नहुँदा सेवाग्राही सदरमुकाममा रहेको जिल्ला अस्पताल र बाहिरी जिल्ला जान बाध्य भएको स्थानीय शेर बहादुर बस्नेतले बताए ।

डाक्टर नहुँदा केन्द्रमा जडान भएको एक्से मेसिन तीन वर्षदेखि नै थन्किएको उनको भनाई छ । डाक्टर सहित ९ जनाको दरबन्दी रहे पनि एचए र स्टाफ नर्सकै दरबन्दी पुरा हुन नसकेको केन्द्रका निमित्त प्रमुख वीर बहादुर ओलीले बताए ।

यस्तै थारमारे प्राथमिक केन्द्र पनि विगत सात महिनादेखि डाक्टर विहीन भएको केन्द्र निमित्त प्रमुख भुपेन्द्र वलीले बताए । केन्द्रमा आएका बिरामीलाई यहाँ गर्न सकिने उपचार गर्ने र नसकिने काम अन्यत्र रिफर गर्नु पर्ने बताए । एमबिबिएसको दरबन्दी भए पनि अध्ययन बिदा भन्दै गए पनि त्यसको प्रत्यक्ष मार सेवाग्राहीले भोग्दै आइरहेका छन् ।

Translate »