एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।

राष्ट्रिय सभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधकै बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे । यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सुचारु हुन नदिने अडान राखेकी थिइन् । उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको पनि पटकपटक दोहोर्‍याइन् ।

एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाका पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गत भदौ २६ गते काठमाडौंमा निधन भएका उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  (कान्तिपुर)

Translate »