बाँकेमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज । बाँकेमा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा एक जना भारतीय नागरिकलाई पाटे बाघले आक्रमण गरी मारेको बाँके प्रहरीले जनाएको छ । आइतबार साँझदेखि हराइरहेका उनको शव बाघले आधा खाइसकेको अवस्थामा भेटिएको छ । बिहान ७ बजेतिर राजमार्गबाट करिब ५ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र बाघको आक्रमणका परेका ती व्यक्तिको खुट्टा मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान भने खुल्न सकेको छैन । तर, उनले स्थानीय एक होटेलमा भाँडा माझ्ने काम गर्दै आएको स्थानीयले बताएका छन् । उनलाई त्यहाँ सबैले ‘भैया’ भनेर बोलाउने गरेको बताइएको छ । केही दिन यता त्यस क्षेत्रमा बाघ देखा पर्दै आएको स्थानीयले बताएका छन् । दुई दिन अघि मात्र बाघले गाउँमा बाख्रा र गाईको बाच्छा मारेको थियो ।

Translate »