बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सीए विषय पढाउने

२७ भदौ, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृतिका लागि आवेदन माग गरेको छ । यी तीन विषयमा एक एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजना अनुसार २५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएकै कारण पढाईबाट बन्चित हुन नपरोस भनी छात्रवृत्तिको योजना अघि सारेको शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईंले जानकारी दिए । उनले भने ‘हामीले आवेदन माग गरेका छौं । आवेदनको आधारमा छनौट गरेर छात्रवृत्ति दिन्छौं ।’

नगरपालिकाको नि:शुल्क शैक्षिक योजना

अनिवार्य तथा निशुःल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा बारबार्दिया नगरपालिका घोषित भएको हो । त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पछाडी पारिएका समुदायका विद्यार्थीहरुको लागि काम गर्दै आएको छ ।

जनता संग नगरप्रमुख, विद्यार्थीसंग नगरप्रमुख लगायत कार्यक्रम मार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा सतप्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईंले जानकारी दिए ।

अपाङ्गताको स्थिति अनुसार विद्यार्थीलाई समावेशी, स्रोत केन्द्र र आवासीय रुपमा नै अध्यापन गराउँदै आएको नगरपालिकाको जिकिर छ । त्यस्तैगरी अति विपन्न, आमाबुवा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा प्रदान गरिरहेको जनाएको छ ।

नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको गर्दै आएको छ । आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सय जना विद्यार्थीलाई छात्रवृत्रि प्रदान गर्ने आएको छ ।

शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं भन्छन्, ‘घरैमा बस्ने तर विद्यालय जानको लागि आवश्यक कपी किताब, पेन्सिल, पोशाक खरिद गर्न नसक्ने सय जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आईरहेका छौं ।’

नगरपालिकाका मुक्त कमैया, सुकुम्बासरी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाईका लागि आवश्यक सामग्री नगरपालिकाले उपलब्ध गराउने गरेको हो ।

 विश्वधिन बहुप्राविधिक शिक्षालय सञ्चालनमा

पालिकाले विश्वधिन बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । वनविज्ञान विषयको लागि अनुमति पाईसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, ८ जनाले ७५ प्रतिशत र ३ जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट थप ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेको नगरपालिकाले जनाएको छ । पढ्न कै लागि पालिकाका विद्यार्थी बाहिर जान नपरोस भन्ने हेतुले नगरपालिका तथा संघीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको शाखा प्रमुख गोसार्ईं बताउँछन् ।

पालिकाले ११७ जना शिक्षक व्यवस्थापन र प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ । कुल बालबालिका मध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको नगरपालिकाको भनाई छ ।

नगरभित्र ५७ ओटा विद्यालय मध्ये ४२ ओटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय छन् ।

Translate »