स्वतन्त्रता भएन भने कमेडियन बन्‍न सकिँदैन

काठमाडौँ: तपाईँ १६ मिनेटमा दुनियालाई प्रभाव पार्ने गरी के गर्न सक्नुहुन्छ ? चितवनकी सीता न्यौपानेले १६ मिनेटको एउटा ‘स्ट्यान्ड अप कमेडी’बाट धेरै दर्शकलाई आफ्नो प्रशंसक बनाइन् ।

मध्यम वर्गीय परिवारका समस्या र व्यवहारलाई उनले कमेडीको कन्टेन्ट बनाएकी थिइन् । त्यसैले त सीताको ‘मिडल क्लास प्रब्लम्स’ ४ महिनासम्म आइपुग्दा ‘नेपग्याज्म’को आधिकारिक युट्यूबबाट झण्डै १० लाखले हेरिएको छ । ३५ हजार भन्दा धेरैले कमेन्ट गरेका छन् ।

‘मिडल क्लास प्रब्लम्स’मा उनले सहरमा बसोबास गर्ने आम मानिसको चिन्तनको दायरा, उनीहरुका खुसी, चिन्ता र समस्यालाई सीताले रोचक शैलीमा प्रस्तुत गरेकी छन् । केही वर्षयता स्ट्यान्ड अप कमेडीमा नयाँ अनुहार र कन्टेन्ट त धेरै देखिएका छन् । तर ती नयाँहरुमध्ये सीताको शैली भिन्न र मौलिक छ ।

उनको कमेडीले धेरैलाई छुनुको कारण उनले आम मान्छेका चासो र ससाना समस्यालाई रोचक पाराले प्रस्तुत गरेकी छन् । त्यसो त सीता पहिलो कमेडी ‘के हेरेको बे’ बाटै चिनिन थालेकी हुन् । तर मिडल क्लास प्रब्लम्सबाट उनले जे कुरा समाजलाई सुनाइन् त्यो धेरै हदसम्म मौलिक, यथार्थपरक र गहिराइसम्मै पुगेको थियो ।

विशेषगरी स्ट्यान्ड अप कमेडीमा महिलाहरुको उपस्थिति थोरै छ । तीमध्ये धेरैले सामाजिक, राजनीतिक मुद्दालाई कन्टेन्ट बनाएकै छैनन् । सीता उनीहरुको भीडबाट अलग छिन् । राजनीतिक मुद्दालाई पनि स्ट्यान्ड अप कमेडीको कन्टेन्ट बनाउने थोरै महिलामध्ये सीता एक प्रभावशाली कमेडियन हुन् ।

उनको ‘बाझनीति’ त्यसैको एक उदाहरण हो । यससँगै उनले नेपाली कमेडीमै ब्याटलको नयाँ प्रयोग गरेकी छन् । लेखमणि त्रितालसँग उनले गरेको ब्याटल कमेडी छोटो समयमै लोकप्रिय बनेको छ । स्ट्यान्ड अप कमेडीमा ब्याटल गरिएको सम्भवत यो नै पहिलो ‘कमेडी दोहोरी’ थियो ।

चितवनदेखि काठमाडौँसम्म:

चितवनको मंगलपुरबाट एसएलसीपछि उनी प्लस टू गर्न काठमाडौँ आइन् । माइक्रो बस चढेर काठमाडौँको कलंकी आइपुग्दा सडकछेउमा थुप्रिएको फोहोर र दुर्गन्धले पहिलो पटक उनको स्वागत गरेछन् ।

‘सोचेको भन्दा फरक भैदियो । कंलकी नजिकै सडकमा थुपारिएको फोहोर, गन्धले नाक खुल्ला गर्न नसक्दा फर्केर चितवन नै जाँउ जस्तो बनाइदियो । सहरभित्र बसेर दुई वर्ष कटाउन एकदम सकस भयो मलाई,’ उनी भन्छिन्, ‘गाँउ भनेको फिलिङ्स हो भने सहर भनेको बाध्यता हो । मलाई सहरभित्र भिज्न धेरै समय लाग्यो ।’

सीता सानैदेखि ठट्टा, रमाइलो गर्ने भएकोले पनि उनलाई सहरभित्र अन्जान व्यक्तिहरुसँग घुलमिल हुन गाह्रो चाँही भएन । काठमाडौँमा पढिन्जेल उनी राम्रोसँग पढ्ने र जागिर मात्रै सोच्थिन् ।

प्लस टू उत्तिर्ण गरेपछि बिएस्सी गर्न उनी चितवन नै फर्किन् । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा उनले माइक्रोबायोलोजीमा बिएस्सी गरिन् । त्यसपछि फेरि काठमाडौँ आइन् एमएस्सी गर्न । अहिले उनी त्रिभुवन विश्वविद्यालयबाट एमएस्सीको थेसिस गरिरहेकी छन् ।

कमेडीमा सीताको प्रवेश:

माघको चिसो मौसमसँगै उनले स्टयान्ड अप कमेडी नेपग्याज्ममा एप्लाई गरिन् । कमेडी उनको प्यासन नै थियो । सानैदेखि कमेडी शो भनेपछि उनी खाना खाँदा समेत टेलिभीजनमा रमाउँथिन् । स्कुलमा दिनभर साथीहरुसँग रमाइलो गर्थिन् । नेपाली मनोरञ्जन क्षेत्रका महजोडी भनेर परिचित मदनकृष्ण र हरिवंशका प्रस्तुतीले सीतालाई कमेडीमा तानेका थिए ।

तर पछिल्लो समय उनी कमेडीमा नयाँ विषय खोजिरहेकी हुन्छिन् । उनी समाजलाई रुपान्तरण गर्ने र सन्देशमुलक कमेडीतिर आकर्षित भएकी छन् । ‘मलाई धर्म, जात र लिंगलाई जोडेर होच्याएर कमेडी गर्न मन पर्दैन् । समाजलाई मोटिभ हुने खालको कमेडी गर्नुपर्छ । म यस्ता कुरामा सकेसम्म धेरै ध्यान दिएको हुन्छु ।’ सीताले भनिन् । अरुलाई होच्याएर र मानहानी हुने खालका प्रस्तुती देखाएर हसाँउनु छैन उनलाई ।

नेपग्याज्ममा एप्लाई गरेको एक महिनापछि सीतालाई कमेडी अडिसनको लागि भनेर फोन आयो । अडिसनको तयारीका लागि उनीसँग दुई दिन मात्रै थियो । जीवनको पहिलो प्रस्तुति भएकाले पनि सीता अलि नर्भस थिइन् । आत्मबल बढाउन उनले पर्दा पछाडि गीत घन्काएर एकछिन रमाइलो गरिन् । कोरोनाका कारण अडिसनमा पहिले जस्तो भीड थिएन । त्यसैले पनि उनलाई प्रस्तुति देखाउन सहज भएको थियो ।

‘के हेरेको बे’ बाट नै उनले आफ्नो कमेडी प्रस्तुती सुरु गरेकी थिइन् । यसमा उनले नाम जस्तै आफू शालिन नभएको भन्दै नामलाई लिएर सोचाइ बनाउने नेपाली समाजको चिन्तन पद्दतीमाथि व्यंग्य गरेकी छन् । ‘नाम जस्तै व्यक्तिको बानी व्यहोरा हुँदैन । सामाजिक संजालमा महिलामाथि गरिने कमेन्ट, म्यासेजबारे उनले प्रस्तुतीमा व्याङग्य प्रहार गरेकी थिइन् । महिला स्वतन्त्रता, अधिकार, बेरोजगारीका कारण निम्ताएका समस्या जस्ता विषयमा उनले अडिसनमा हसाँएकी थिइन् ।’

पहिलो कमेडीपछि नै उनलाई फोन, म्यासेज र सामाजिक संजालमार्फत प्रशंसा आउन थालेको थियो । यसले उनलाई झन् उत्साही बनायो । यसलगत्तै सीताले ‘मिडल क्लास प्रब्लम्स’, ‘बाझनीति’ सहित धेरै सामाजिक मुद्दाबारे सरकारमाथि पनि व्यंग्य गरेकी छन्।

उनको कमेडीलाई धेरैले रुचाए । पहिलो अडिसनबाटै सीतालाई गाउँका छिमेकीले समेत फोन गरेका थिए । ‘नानी तिम्रो भिडियो हेरे नि क्या रमाइलो गरेको भन्दै फोन आयो । त्यसपछि मलाई काम गर्ने उर्जा मिल्यो’ उनले सुनाइन् ।

हरेक कमेडियनहरु स्वतन्त्र हुनुपर्ने सीताको तर्क छ । ‘हरेक हिवासबाट कमेडियनहरु स्वतन्त्र हुनुपर्छ । स्वतन्त्र भएन भने कमेडियन बन्न नै सकिँदैन । महिलालाई झन् स्वतन्त्रता धेरै आवश्यक छ । कमेडीमा खुल्ला रुपमा प्रस्तुत हुनुपर्ने भएकोले धेरे बोल्नुपर्ने हुन्छ । बोले अनुसारको हाउभाउ दिनुपर्ने हुन्छ । त्यसैले स्टायान्ड अप कमेडीमा महिलाको सहभागिता कम नै छ । महिलाहरुलाई धेरै बोलेको नरुचाउने जस्ता कारणले पनि कमेडीमा महिला कम नै देखिन्छ’ सीताले भनिन् ।

कमेडियन बन्न सामाजिक रुपमा फराकिलो हुन आवश्यक रहने पनि ठान्छिन् उनी । त्यसो त सीताको व्यक्तिगत सन्दर्भमा उनलाई केही सहज छ । परिवारको साथसहयोगले नै यहाँसम्म आइपुगेकी ठान्छिन् उनी । ‘मैले अडिसन दिइरहँदा परिवारका कुनै एक सदस्यले ताली पिटे पनि एकदम हिम्मत बढ्छ । त्यसैले सुख दुःखमा परिवारको साथ आवश्यक हुन्छ । तिमी गर म छु भन्ने हुनुपर्छ ।’ (अन्नपूर्ण पोस्ट्)

Translate »