कोरोना महामारी : नेपालमा सक्रिय संक्रमितको संख्या ३० % ले कमी

भदौ २५, काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ ।

तथ्यांक अनुसार भदौको ३ गतेको तुलनामा बिहीवार सक्रिय संक्रमतिको  संख्यामा करीब ३० प्रतिशतले कमी आएको पाइएको छ । भदौको पहिलो हप्ताको तुलनामा सक्रिय संक्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय संक्रमित ४० हजार ५०० जना थिए भने त्यो संख्या घटेर बिहीवार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया संक्रमितको संख्यामा करीब  ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पीसीआर परीक्षण गरेकामा ३ हजार ७५ जनामा संक्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस संक्रमण निको हुने व्यक्तिको संख्या २ हजार १२६ जना मात्र थिए ।

यो संख्यामा बिहीवार गिरावट आएको छ । बिहीवारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पीसीआर परीक्षणमा एक हजार २७१ जनामात्र संक्रमित पाइएका छन् ।

यता ५०० जनाभन्दा बढी संक्रमित भएका जिल्ला घटेर १६ ओटामा पुगेको छ भने बिहीवार १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । बिहीवारसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संक्रमणमुक्त हुने दर ९४ दशमलव ९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले बताएका छन् ।
नेपालमा बिहीवारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख २ हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार परीक्षण गराएकामध्ये संक्रमण हुने दरमा कमी आएको छ ।

जनस्वास्थ्यविद्हरुले अहिले संक्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले संक्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

सरकारले असोजसम्म कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताएको छ । रासस

Translate »