ठेकेदारको लापरबाहीले दुई वर्षदेखि पक्की पुल पिलरमै सीमित

दीपक शर्मा / सल्यान । ठेकेदारको लापरबाहीका कारण जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ र ६ लाई जोड्ने पक्क पुल विगत दुई वर्षदेखि पिलरमै समिति बनेको छ । छत्रेश्वरीको शंखमुलमा दुई वर्ष अघि सम्पन्न भई सक्नु पर्ने पुल ३ पिलरमै अलपत्र परेको छ ।

२०७६ असार २० गतेसम्म निमार्ण गरी सक्ने गरी एसबीए/सूर्य जेभीले पुल निमार्णको ठेक्का लिए पनि म्याद सकिएको दुई वर्ष बितिसक्दा समेत ठेकेदार काम सम्पन्न नगरी बेपत्ता भएका छन् । राप्ती लोकमार्गसँग दारिमज्युला–खर्सुबास सडकलाई जोड्न पुल निमार्ण अघि बढाइए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीय शेर बहादुर रानाले बताए ।

पुल निमार्ण स्थलमा निमार्ण सामाग्री समेत अलपत्र परेको उनको भनाई छ । उनले भने निमार्ण सामाग्री यही भएकाले पुल छिट्टै हुन्छ की जस्तो लागेको थियो तर दुई वर्ष बितिसक्दा समेत अलपत्र नै छ ।

सडक डिभिजन कार्यालय दाङले पटक पटक म्याद थप गरिएको र वर्षा हट्ने बित्तिकै ठेकेदार कम्पनीले काम सुरु गरेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख इ. निरज शाक्यले बताए । सरकारले चैत मसान्तसम्मको समय थप गरिदिँदा पनि समस्या भएको उनको भनाई छ । आर्थिक वर्षको अन्तिम तिर कामको थालनी गर्ने सरकारले पनि म्याद थपिदिए पनि उनीहरूलाई कारबाहीको दायरामा ल्याउन समस्या भएको शाक्यले बताए ।

समयमै पुलको काम सम्पन्न नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छत्रेश्वरी गाउँपालिका –६ का वडाध्यक्ष चूडामणि दसौदीले बताए । पुल अलपत्र पर्दा सरकारी लगानी खेर गइरहेको उनको भनाई छ ।

Translate »