डिभी र पिआरसँग कलिला छोरीको सौदाबाजी किन?

उमेरले भर्खरै १८ टेकेकी गरिमा (नाम परिवर्तन), १२ कक्षामा गाउँकै क्याम्पसमा अध्ययनरत थिइन् । शील-स्वभाव अनि रूपले धपक्कै बलेकी थिई ।

उनको बान्की परेको बाटुलो अनुहार, सलक्क परेका हात गोडा, सिल्की कपाल, मिलेका जीउडाल, मृगनयनी आँखा, मसिनो मृदुभाषी बोली, अत्यन्तै संस्कारी चरित्र र पढाइमा तिक्ष्ण दिमाग उनको चारित्रिक विशेषता ।

ग्रामीण मध्यम वर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने उनी परिवारकी कान्छी छोरी हुन् । उनका दुई जना दिदीहरू गाउँकै क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।

जेठी र माइली पनि राम्रा छन् । तर दुई दिदीभन्दा रूपमा बिछट्टै राम्री गरिमा । परिवारमा मात्र नभएर आफ्नो साथीसंगीहरूमा पनि सबैभन्दा बढी नै राम्री थिइन् ।

१२ कक्षाको अन्तिम परीक्षा आउनलाई तीन महिना जति बाँकी हुँदो हो, उनका एकजना आफन्त उनको घरमा एक पुरुषको तस्बिर बोकेर बिहेको कुरा गर्न आउँछन् ।

केटो सहरमा घर परिवार भएको कुलघराना, खानदानी वर्गको मान्छे । विगत १५/१६ वर्षदेखि अमेरिकामा बसोबास गर्ने, पिआर पाइसकेको हुनेखाने सम्पन्न भनेको सुन्नासाथ गरिमाको परिवारले नकार्ने कुरै भएन ।

लमीले धारा प्रवाह भनेअनुसार उनकी आमाले सो फोटो उसकी जेठी दिदीलाई देखाइदिइन् । र धर्मकर्मको फल हो भन्दै आफ्नी छोरीको अहोभाग्यको कारण यस्तो केटाको प्रस्ताव आएकाले खुसी हुँदै छोरीलाई मनाइन् ।

जेठी दिदीले पनि अमेरिकाकै पिआरवाला माग्न आउँदा नाइँ भन्ने कुरै थिएन । ‘हुन्छ’ भनिन् र अमेरिका जाने स्वकल्पनामा डुबुल्की खेल्न थालिन् । बहिनीहरूले जिस्काउन थाले ।

उनी लजाएर ‘मोरीहरू अहिले कुटाइ खाउलाऊ नि’ भन्दै शर्माइन् । कुरा लगभग निधो भएपछि लमीले केटा र उसका परिवारसहित अर्को हप्ता टीकाटालो गर्न आउने निर्क्यौल निकाली मिति निर्धारण गरी बिदा मागे ।

उनकी दिदीलाई त्यो एक हप्ता कटाउन पनि एक सालझैं लाग्न थाल्यो । छिमेकी आफन्त, नातागोता, साथीसंगीबाट बधाइको भेल नै बग्न थाल्यो ।

साह्रै खुसी थिइन् उनी । गाउँले महिलाहरूले आपसमा साउती गर्न थाले- ‘भाग्यमा त लिएर आएकी रहिछिन् नि हाम्री पोखरेल्नी ठूलीले । अमेरिकाको पिआरवाला माग्न आयो गाँठे ।’

आदि इत्यादि।

हप्ता दिन बित्यो, मोटर रिजर्भ गरेर दुलाहा पक्षबाट लगभग दस जना जति मानिस आए । झ्यालबाट तीन दिदी बहिनीले चिहाउँदै हेरे ।

तर फोटोमा जस्तो राम्रो कारको ढोकामा उभिएर बसेको, राम्रो चमकदार मान्छे त्यो ग्रुपमा ठम्याउनै सकिरहेका थिएनन् । कुराकानी चल्दै गर्दा पाहुनालाई चिया खाजा ल्याउन बुवाले आमालाई भने ।

त्यतिकैमा आमाले छोरीलाई चिया खाजा ल्याउन र सिकाएअनुसार खाजा राखिसकेपछि थोरै लजाउँदै व्यवहार गर्न भित्र गएर अह्राइन । सोही अनुसार छोरीले पनि चिया-खाजा लिएर आइन् भने उसकी माइली बहिनी र गरिमा दिदीको पछि-पछि साथी आए।

तर फोटोमा देखेको भन्दा सो केटा बिल्कुल फरक थियो । फोटो दस वर्ष अघि र राम्रो क्यामराले खिचिएको हुँदो हो सायद । फोटो त्यति राम्रो आएको तर अर्कै ।

फोटामा देखिएको कुनै पनि विशेषता केटामा थिएन । न रूप, न ज्यान । तर अमेरिकाको पिआरधारी, एक प्रतिष्ठित कम्पनीमा काम गर्ने ।

पिआर पाएको पनि पाँच वर्ष भइसकेको । मासिक कमाइ न्यूनतम पाँच लाख जति हुने । गाडी-घोडा अनि अपार्टमेन्ट समेत किनिसकेको जानकारी केटा पक्षले बताए ।

यो सब देख्दा, बुझ्दा उसको रुप र अवस्थालाई भन्दा पनि पिआरको कागजले जित्यो र सबै सम्झौता गर्दै अभिभावकले कुरा अगाडि बढाउँदै अघि सर्दै चिना टिप्पन मिलाउन गुरूबालाई आग्रह गरे ।

गुरुले सोधखोज गर्दा केटाको उमेर गरिमाको बुवाभन्दा ठ्याक्कै एक वर्ष मात्र कम, अर्थात् ४१ वर्ष रहेछ। त्यो थाहा पाउन साथ गरिमाको परिवारका सबैले मन खिन्न बनाए ।

भित्र गएर आमासँग छोरीले आनाकानी गर्दै बेखुस प्रकट गरिन् । भविष्यको लोभ र अमेरिकाको पिआरलाई हाइलाइट गर्दै दुष्प्रभावको पारिवारिक प्रेसरले गर्दा बडो मुस्किलले राजी भइन् ।

परिवारका सबैले चित्त नबुझ्दा-नबुझ्दै पनि पिआर सम्झेर मन बुझाए ।

बाहिरपट्टि खाजा खाँदै बसेको अधबैंसे केटोलाई जेठीभन्दा पनि कान्छीमा आँखा गएछ ।

उसले बुवालाई खुसुक्क भन्यो- ‘त्यो राम्रीसँग चाहिँ कुरा गर्नु न बुवा, खाजा ल्याउने केटीभन्दा सुन्दर त पछि-पछि आउने रहिछे के ।’

केटाको बुवाले लमीलाई सोही राम्री मिलाइदिन साउती गर्‍यो ।

लमीले पनि गरिमाको बुवालाई भन्यो ‘कान्छी भए हुन्छ अरे नत्र त जेठी त मन परेन रे हाम्रो दिनेश बाबुलाई ।’

यो सुन्नासाथ सबै अचम्ममा परे । भित्र बल्ल-बल्ल तयार भएकी जेठी छोरीलाई सबै सुनाएर ‘गरिमा भए मात्र ओके रे नत्र बिहे नगर्ने भनेर कुरा आयो’ सुनाए ।

जेठीले मन असाध्यै कुँड्याएर भक्कानिन् र बहिनीका लागि आफूले छोड्ने बताइन् ।

‘गर्दिनँ म त्यस्तो बुढो अनि तालु खुइलेसँग बिहे, मेरो बिहे गर्ने बेला पनि भएको छैन’ भनेर अड्डी कस्छिन् गरिमा ।

बुवा-आमाले सम्झाउँदै भन्छन्- ‘हेर नानी, पैसा भएपछि कपाल हाल्न मिलिहल्छ नि। दाँत पनि सिधा बनाउन मिल्छ रे । चिन्ता नगर नानी, तेरै भविष्यको लागि हो हामीले भनेको ।

यस्ता गाउँघरमा घाँसदाउरा गरेर बस्ने कि विश्वकै सबभन्दा राम्रो देश अमेरिका गएर रानी भएर बस्ने! एकछिन कल्पना गर त अमेरिकाको लाइफ स्टाइल र त्यहाँको रमाइलो !

यतिका कुल घरानको केटालाई नाइँ भन्छस् भने हामीलाई बाउ-आमा नभन्नू अबदेखि ।’

यति भनेर उसलाई दबाब दिन थाल्छन् ।

एकैछिन अघि जेठीलाई मनाएका बाउआमाले अर्की छोरीलाई मनाउन बाध्य हुन्छन केवल पिआरको प्रभावले। सबै जना धेरै रोए भित्र गएर । तर पिआरका अगाडि त्यसले पनि हार खायो र १८ वर्ष टेक्दै गरेकी छोरी पिआर भएकै भरमा बाबुको उमेरको केटालाई दिन तयार भयो परिवार ।

उनीहरूको बिहे हुन्छ, सँगै अमेरिका जान्छन् । पढाइ, उमेर अनुसारको रहर, चाहना, इच्छा सबैलाई तिलान्जली दिएर पाको उमेको श्रीमानलाई आफ्नो तन, मन सुम्पिएर परदेशी गृहस्थी जीवन बिताउँदै छिन् गरिमा ।

पुगेको केही महिना त चित्तै नबुझ्ने रूपरंगको श्रीमान । उनमा उदासिनता सुरू हुन्छ। खान पनि मन नलाग्ने, दिक्दारी लाग्ने, आफ्नै पति हेर्दा पनि दिक्कै लाग्ने खालको मनोदशा सिर्जना हुन्छ।

कतै सँगै हिँड्दा युगल जोडी कसैले नभन्ने, बाउ-छोरी झैं देखिने जोइ-पोइको जोडी देख्दा उनी आफैंलाई लाज लाग्ने हुँदा खासै बाहिर निस्किन्नन् । तर जीवन एक केवल सम्झौता नै रहेछ भनेर बाहिरी चित्त बुझाइ आफूले आफैंलाई सम्हाल्ने कोसिस गर्छिन् ।

विस्तारै अवस्था सामान्य हुँदै जान्छ र खुसी देखिन गरिमा कहिलेकाहीँ समुद्रतिर, चिल्ला सडकमा राम्रो कार कुदाउँदै, राम्रा-राम्रा फूलबारीमा, झिलिमिली बत्तीमा, डिस्कोतिर नृत्य गर्दै गरेको फोटो सामाजिक सन्जालमा पोस्ट गर्छिन् ।

नेपालमा हुने उसका साथीसंगी, छिमेकी नातागोता, परिवारका सदस्यले ‘कति लक्की पोखरेल्नी कान्छी’ भनेर इर्ष्या गरिरहेका छन् । झिलिमिली बिजुली सहरले सबै उज्यालो  छ । अमेरिकामा तर उनको मन केवल सम्झौतामा अडिएको छ पिआरको कागजमा ।

के छ कानुनी व्यवस्था ?

केही मसिनो लाइनमा नेपालमा अनमेल विवाह समबन्धी कानुनी प्रावधान हुँदै नभएको होइन तर सोमा धेरै छेदहरू छन् ।

‘विवाह गर्न कानुन त योग्य महिलाले आफूखुसी विवाह गर्न योग्य पुरुषसँग विवाह गर्दा सोलाई अनमेल मानिने छैन’ भन्ने कुरा विवाह दर्ता ऐन २०२८ को कानुनको किताबमा उल्लेख छ ।

तर माथि उल्लेख भएको गरिमाको कथामा दुवै जना बालिग नै हुन् तर अवस्था र परिवेश फरक छ । हो, यस्तो कुरामा कानुन मौन छ । बेचबिखानविरूद्धको कानुनमा पनि यस्ता प्रभावले दिने दबाबलाई उल्लेख गर्न सकेको देखिँदैन ।

हाम्रो विद्यमान मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले केवल देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको ठहर्छः

क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,

ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,

ग) प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने,

घ) वेश्यागमन गर्ने ।

उल्लेखित ‘क’देखि ‘घ’सम्मका बुँदा हेर्ने हो भने यी र यस्ता उल्लेखित गरिमाको जस्तो प्रतिनिधि केसमा व्यवहारगत त्रुटी कुराहरुलाई कानुनको बुँदा भित्र समेटिएको पाइँदैन ।

तर त्यस्ता आधुनिक समस्याहरु अहिले हाम्रो देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गीय विशेष गरी आर्यन समाजमा बढ्दो क्रममा छ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ-संस्थाहरु र अभियानताहरुले यी र यस्ता इमोसनल्ली  कुराहरुमा बहस र चर्चा गरिनु पर्ने टड्कारो आवश्यकता भइसकेको छ ।

यतिका मनोवैज्ञानिक तनाव र भित्र मन बेखुश हुँदासम्म पनि सबैले ‘वाही वाही’ र जसरी ‘सौभाग्यवती’ भनेर चित्रित गरिँदै गरेको मानसिकतालाई पनि सचेतना जगाइ चिर्नु जरुरी छ ।

यस्ता बिसंगती र प्रभावको दबाबलाई महिला बेचबिखनकै एक फरक पाटो हो भन्दा अत्युक्ती नहोला ।

कानुनले निर्धारण गरेको सीमा पूरा भएकै भोलिपल्ट नै भावनात्मक ‘ब्ल्याकमेल’ गरी प्रभावमा परेर वा पारिएर यदि कसैले आफ्नो कलिला नानीहरू सुम्पन्छन् भने सोलाई पनि बेचबिखनको परिभाषा भित्र समेटिनु जरुरी छ । (सेतोपाटी)

Translate »