वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए ।

Translate »