चाड पर्वको मुखैमा बजारमा चिनीको अभाव

२१ भदौ, काठमाडौं । चाडपर्वको मुखैमा बजारमा चिनी अभाव भएको छ । स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण बजारमा चिनीको अभाव भएको व्यापारीहरुले बताएका छन् ।

खुद्राले मागेजति चिनी उपलब्ध गराउन सकिने अवस्था नरहेको होलसेल व्यवसायी एवं टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुँयालले बताए । बजारमा चिनी अभाव देखिएसँगै होलसेल मूल्य पनि किलोमा तीन रुपैयाँले वृद्धि भएको उनले अनलाइनखबरलाई बताए । ‘बजारमा चिनीको अभाव देखिएको छ, भारतबाट आयात गरेको सीमित मात्रामा उपलब्ध चिनीको हेलसेल मूल्य किलोमा ८३ बाट साढे ८६ रुपैयाँ पुगेको छ,’ फुयाँलले भने ।

सरकारले सहुलियतको चिनी नल्याएको र नेपालमा उत्पादन भएको चिनी सकिएका कारण बजारमा चिनी अभाव भएको उनले बताए । समयमै सरकारले कदम नचाले दशैं-तिहारमा चिनीको भाउ छोई नसक्नु हुने उनको आकलन छ ।

सहुलियतको चिनी सकिए पछि बजारमा चिनी अभाव देखिएको नेपाल खुद्रा प्यापार संघले जनाएको छ । खुद्रा पसलेले होलसेलमा चिनी पाउन छोडेको र पाइहाले पनि मूल्य बढेको बताउने गरेको संघका महासचिव अमुलकाजु तुलाधरले बताए । चिनी पाइहाले पनि होलसेलले बिल दिन नमान्ने गरेको उनले बताए । यस अघि होलसेलमा ८४ रुपैयाँमा पाउने गरेको चिनीको मूल्य पनि बढेको तुलाधरको भनाइ छ । चिनीको होलसेल मूल्य ८७ रुपैयाँ भन्दा बढी पुर्‍याइएको छ, बेकरी र बिस्कुट उत्पादकले चिनीलाई जतिपनि पैसा हाल्ने भएपछि खुदा ब्यापारी मर्काम परेका छन्,’ महासचिव तुलाधरले भने । चाडपर्व नजिकिएका कारण चिनीको उपलब्धका लागि सरकारले ठोस कदम नचाले सर्वसाधरण बढी पीडित हुने उनको बुझाई छ । बजारमा खुद्रामा चिनीको मूल्य एक सय रुपैयाँ हाराहारी पुग्न थालेको खुद्रा व्यापार संघ काकार्यकारणी सदस्य ध्रुब अधिकारीले बताए । होलसेलले चिनीको कृतिम मौज्दात गर्न थालेको जस्तो बजारमा देखिएको अधिकारीको भनाई छ ।

नेपाली उत्पादकसँग १० दिनलाई पुग्ने चिनी

गत वर्ष नेपालमा ११ वटा चिनी मिलले मात्रै उखु क्रसिङ गरेर चिनी उत्पादन गरेको नेपाल चिनी उत्पादक संघले जनाएको छ । ति उद्योगमार्फत एक लाख २० हजार मेट्रिकटन चिनी उत्पादन भएकोमा धेरै मिलले चिनी बिक्री गरिसकेको र सिमित मात्रामा मात्रै चिनी उपलब्ध रहेको संघका महासचिव राजकुमार अग्रवालले बताए । यो पटक चाडपर्वको मुखैमा चिनी सकिएको छ, बजारमा आयात गरिएको चिनी के कसो छ थाहा छैन,’ अग्रवालले भने ।

नेपाल चिनी उत्पादक संघले वाणिज्य विभागलाई पठाएको जानकारी अनुसार अब संघ मातहतका पाँच वटा उद्योगसँग जम्मा ६५ हजार ४३१ क्विन्टल मात्रै चिनी बाँकी छ । उद्योगी पठाएको विवरण हेर्दा दैनिक १० दिनको लागि मात्रै पुग्ने चिनी उपलब्ध रहेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । सामान्य अवस्थामा दैनिक नेपालमा ६८४ मेट्रिकटन चिनीको खपत हुन्छ ।

भदौ १८ गतेसम्म उद्योगहरुबाट प्राप्त विवरणअनुसार कल १४ वटा चिनी मिल मध्ये पाँच वटा मिलसँग केही मात्रामा चिनी उपलब्ध छ । यस्तै चार वटा उद्योग बन्द अवस्थामा छन् भने पाँच वटा उद्योगसँग चिनी मौज्दात छैन् । वाणिज्यलाई प्राप्त विवरणअनुसार एभरेष्ट सुगर एण्ड केमिकलसँग ३७ हजार ८४२ क्विन्टल, रिलायन्स सुगर एण्ड केमिकल्ससँग ४१९ क्विन्टल, इन्दुशंकर चिनी मिलसँग एक हजार ८८० क्विन्टल चिनी मौज्दात छ । यस्तै इष्टर्न सुगर मिल्ससँग ७ हजार ३२५.५ क्विन्टल र हिमालय सुगर मिलसँग १७ हजार ९६५ क्विन्टल चिनी मौज्दात छ ।

चिनी आयात गर्न डराए व्यापारी

बजारमा चिनीको हाहाकार हुँदा पनि ब्यापारी भने चिनी आयातका लागि डर मानिरहेका छन् । सरकारले चाड पर्वको मुखैमा सहुलियतको चिनी ल्याइदिने डरमा महँगोमा चिनी ल्याउन आँट नगरेको एक आयातकर्ताले बताए ।

‘हामीले आयात गर्ने चिनीको बजार मूल्य किलोमा एक सय रुपैयाँसम्म पुग्न सक्छ, सरकारले सहुलियतको चिनी ल्यायो भने त हामी डुब्छौं,’ ति आयातकर्ताले भने । सरकारले भन्सार छुटमा ल्याउने चिनी बजारमा ७२ रुपैयाँ पाउने भएपछि घाटा लाग्ने हुनाले आयातकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेको उनले बताए ।

अर्थ मन्त्रालयको असहयोग

चिनी अभाव र मूल्य वृद्धि गर्न सरकार नै जिम्मेवार रहेको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ । सरकारले सहुलियतमा चिनी ल्याउन सक्ने प्रयप्त आधार हुँदा हुँदै काम नै नगरी समय गुजारेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । अर्थ मन्त्रालयमा चार महिनादेखि सहुलियतको चिनीको फाइल अड्किएको उनले बताए ।

‘साल्टबाहेक खाद्य संस्थानबाट पनि चिनी बिक्री गर्न सकिने आधारलाई सरकारले नजरअन्दाज गरेर उपभोक्तामाथी अन्याय गरेको छ,’ तिमिल्सनाले भने । साल्ट ट्रेडिङ कर्पोरेसनमा वैशाख ११ मा सहुलियतको चिनी सकिए लगत्तै बजारमा चिनीको हाहाकार भएको तर अभाव चिर्न अर्थ मन्त्रालयले साथ नदिएको उनले बताए । (अनलाइन खबर)

Translate »